पथरी / पथरीमा जारी दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताका लागि पथरीशनिश्चरे नगरपालिकाले रु. ७ लाख ५० हजार सहयोग गर्ने भएको छ। नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले गोल्डकप आयोजना तथा पुरस्कार राशी व्यवस्थापनमा सहयोग पुर्याउने निर्णय गरेको हो।

नगरपालिका कार्यालयको बैठक कक्षमा बसेको बैठकले प्रतियोगिताबाट नगरको खेलकुद विकास, स्थानीय प्रतिभा प्रोत्साहन तथा पथरीशनिश्चरेलाई खेल पर्यटनको केन्द्रका रुपमा पहिचान बनाउन भूमिका हुने ठहर गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको वडा नं. ८ का वडाध्यक्ष एवं नगर प्रवक्ता नविन कार्कीले जानकारी दिनुभयो।
बैठकले अन्य महत्वपूर्ण निर्णय पनि गरेको छ। त्यसमध्ये नगर क्षेत्रमा प्रयोग हुने ग्राभेलको दर प्रति घन १,१८० रुपैयाँ निर्धारण, मालपोत र स्थानीय जग्गा मूल्य सूचकांकबीचको अन्तर समायोजन, पथरी नगर अस्पतालको नयाँ भवनबाट सेवा सुरु गर्न ठेकेदारलाई प्रक्रिया अघि बढाउने, तथा जेनजी आन्दोलनका समयमा नगरका सार्वजनिक सवारी साधन सुरक्षित राख्न योगदान दिने चालक तथा नगर सुरक्षाकर्मीलाई सम्मान गर्ने निर्णय प्रमुख रहेका छन्।
यस्तै, धानबालीमा परेको क्षतिको विवरण संकलन गरी प्रदेश तथा संघीय सरकारले क्षतिपूर्ति उपलब्ध गराउन माग गर्ने, आन्दोलनका क्रममा नगरपालिका तथा वडा कार्यालयमा भएको क्षतिको विवरण राष्ट्रिय योजना आयोगमा पठाउने, र नगर एवं वडा कार्यालयहरूका लागि आवश्यक कम्प्युटर र प्रिन्टर खरिद गर्ने निर्णय पनि गरिएको छ।
नगर क्षेत्रमा देखिएको ट्राफिक जाम नियंत्रित गर्न पथरी बजारका आन्तरिक सडकमा वान–वे प्रणाली लागू गर्ने विषयमा समेत सल्लाह तथा छलफल अघि बढाइने नगरपालिका प्रवक्ता कार्कीले जानकारी दिनुभयो।