पथरी / काठमाडौंको ए–डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले मोरङको पथरीमा जारी ‘अन्तर्राष्ट्रिय आमन्त्रण ईन्ट्रा पथरीशनिश्चरे गोल्डकप – २०८२’ को सेमिफाइनलमा स्थान बनाएको छ ।

मंगलबार जाँतेस्थित पथरी रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेल निकै रोमाञ्चक रह्यो । निर्धारित ८० मिनेटसम्म दुबै टिमले गोलको अवसर सृजना गरे पनि गोल गर्न नसकेपछि खेल टाई–ब्रेकरमा पुगेको थियो ।
टाई–ब्रेकरमा एनआरटीका कप्तान सरोज घिसिङ, सनम लिम्बु, रोहन खड्गी र आकाश राईले गोल गर्दै टोलीलाई जितसम्म पुर्याए । झापा ११ का नवयुग श्रेष्ठ र पुजन श्रेष्ठ भने प्रहार असफल भएपछि झापा पराजित भयो । एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले झापाका दुई निर्णायक प्रहार रोक्दै टोलीको जित सुनिश्चित गरे ।
उत्कृष्ट प्रदर्शनका लागि गच्छदार ‘म्यान अफ द म्याच’ घोषित भए । उनले ट्रफीका साथै नगद पाँच हजार पुरस्कार प्राप्त गरे । यस जितसँगै गोल्डकपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।
बुधबारदेखि सुरु हुने सेमिफाइनल चरणमा सिरहाको सलहेश युवा क्लब, पाँचथरको पाँचथर क्लब, काठमाडौंको एनआरटी र आयोजक पथरी ११ भिड्नेछन् ।
पहिलो सेमिफाइनलमा बुधबार सलहेश युवा क्लब र पाँचथर क्लब आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनल बिहीबार आयोजक पथरी ११ र एनआरटी बीच हुने छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २२ गते निर्धारित गरिएको छ ।