पथरी / मोरङको पथरी शनिश्चरे–०२ मा रहेको हरियाली सामुदायिक वन लिमिटेडले पर्यटन र मनोरञ्जनलाई जोड दिने योजनासहित आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

वनले पार्कको अवधारणा अघि सारेपछि छोटो अवधिमै तीनवटा पौडी पोखरी सञ्चालनमा ल्याइसकेको छ। यसैसँगै नयाँ पिकनिक स्पट, कपल बेन्च, बालबालिकाका लागि स्केटिङ र बोटिङका लागि नयाँ बोट खरिदजस्ता संरचना थप गर्ने तयारी गरिएको छ। संघ–प्रदेश सरकारको सहयोगमा नेपालको नक्सा अंकित पोखरीलाई स्तरोन्नति गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
आगामी वर्ष पार्कलाई व्यवस्थित बनाउन घेराबार सम्पन्न गर्ने, बाटा–घाटा सुधार्ने, वनभोज कटेज र व्यापारिक स्टल थप निर्माण गर्ने लगायतका कार्यक्रम अघि सारिएका छन्। साथै, कम्पनीले आफ्नै वेभसाइट सञ्चालनमा ल्याउने, नियमावली संशोधन गर्ने र उत्तर–उत्तरपूर्वतर्फ नयाँ प्रवेशद्वार निर्माण गर्ने तयारीसमेत गरेको छ।
अध्यक्ष दिलबहादुर तामाङका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ६९ लाख ४१ हजार ५ सय रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ। पुँजीगत आम्दानी ९० लाख हुने अनुमान गरिएको छ र पर्यटनमै जोड दिँदै उक्त रकम खर्च गर्ने योजना बनाइएको छ।
यी सबै कार्यक्रम सार्वजनिक गर्ने अवसर चौथो वार्षिक साधारण सभामार्फत भयो। सभामा हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगर प्रमुख अतिथि थिए भने उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष दिपक बस्नेतसहित विभिन्न व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम कम्पनीका प्रबन्ध सञ्चालक रोहित बास्तोलाले सञ्चालन गरेका थिए।