पथरी / पथरीशनिश्चरेमा क्रियाशील शान्ति सामुदायिक वन उपभोक्ता समूहको १७औं साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । सभामा वन संरक्षणदेखि खेलकुद, पर्यटन प्रवर्द्धन र सामाजिक उत्तरदायित्वसम्मका विषयमा छलफल हुँदै महत्वपूर्ण निर्णयहरू पारित गरिएका छन् ।

अध्यक्ष कुलबहादुर गुरुङ (कुलमणी)ले प्रस्तुत गरेको २७ बुँदे प्रतिवेदनलाई सभाले अनुमोदन गरेको छ । सो प्रतिवेदनमा वन क्षेत्र संरक्षण, पदमार्ग र अवलोकन टावर जस्ता पूर्वाधार विकाससँगै खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिइएको थियो । यही क्रममा पथरी बजारको जाँते मोडस्थित स्थानीय फुटबल मैदानलाई आधुनिक रंगशालामा स्तरोन्नति गर्ने प्रस्तावलाई सर्वसम्मत समर्थन गरिएको छ ।
रंगशाला निर्माणको जिम्मेवारीका लागि तत्कालीन अध्यक्ष तथा प्रमुख सल्लाहकार केबी गुरुङको संयोजनमा हेमभक्त तमु र अनिता थापा सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरिएको छ । सभाले यो पहललाई पथरीशनिश्चरेलाई खेलकुद पर्यटनको नयाँ गन्तव्य बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको छ ।
सभामा सचिव अनिता थापाले वार्षिक प्रगतिविवरण प्रस्तुत गर्दै शान्ति वनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताइन् । उनले वन क्षेत्रमा बनेका विश्रामस्थल, पदमार्ग र अवलोकन टावरले आगन्तुक आकर्षण बढाएको उल्लेख गरिन् । कोषाध्यक्ष रोमान्सि धिमालले आर्थिक प्रतिवेदन पेस गर्दै समूहको आय–व्यय पारदर्शी रहेको बताए भने लेखा संयोजक राजेन्द्र भण्डारीले वित्तीय अवस्था स्पष्ट पारे ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. १ का अध्यक्ष भिमकुमार राईले शान्ति सामुदायिक वन निरन्तर प्रगतिशील बाटोमा अघि बढिरहेको बताउँदै यसलाई नगरकै गौरवको मोडलका रूपमा प्रस्तुत गरे । डिभिजन वन कार्यालय पथरीशनिश्चरेका सहायक प्रमुख कृष्ण चोङ्बाङले सामुदायिक वनलाई संरक्षण र विकासको नमुना भनेर व्याख्या गरे । साथै सामुदायिक वन उपभोक्ता महासंघ नगर सचिव हेमभक्त तमु, निवर्तमान अध्यक्ष केबी गुरुङ, मनकामना सामुदायिक वनका अध्यक्ष दिनेश राईलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
शान्ति सामुदायिक वन उपभोक्ता समूह विगतदेखि नै संरक्षण, पर्यटन प्रवर्द्धन र सामाजिक उत्तरदायित्वमा सक्रिय रहँदै आएको छ । यसपटकको साधारण सभाले खेलकुदलाई समेत प्राथमिकतामा राख्दै वनको योगदानलाई अझ फराकिलो बनाएको छ ।