पथरीशनिश्चरेका किसान दुलालको बारीमा तहगत नगदेबाली

पथरी / मोरङ्को पथरीशनिश्चरे १० का किसान लक्ष्मीप्रसाद दुलालले आफ्नै घरछेउको १६ कट्ठा जमिनमा तहगत नगदेबाली खेती गरेर राम्रो आम्दानी लिइरहेका छन् ।

पहिले उखु खेती गर्ने दुलालले कृषि मजदुरको अभावका कारण उखु हटाएर सुपारी रोपे । सुपारीको दुई वर्षपछि उनले मरीच रोपे र त्यसको केही समयपछि सुपारीका बीचमा ड्र्यागन फ्रुट लगाएका छन् । अहिले उनको बारीमा सुपारी, मरीच र ड्र्यागन फ्रुट गरी तीन तहका नगदेबाली फलफूल उत्पादन भइरहेका छन् ।

दुलालका अनुसार हाल ७०० बोट सुपारीबाट वार्षिक करिब तीन लाख रुपैयाँ आम्दानी भइरहेको छ । अघिल्लो वर्ष मात्र उनले मरीच एक मन उत्पादन गरी स्थानीय मसला उद्योगलाई प्रतिकिलो १,२०० रुपैयाँमा बिक्री गरेका थिए । यस्तै, १६ महिनाअघि रोपिएको ड्र्यागन फ्रुटबाट यस वर्ष पहिलो पटक ६० हजार रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।

“सामाजिक सञ्जाल हेरेर मात्रै खेती सुरु गरेको हुँ, तर अब यसको परिणाम राम्रो आएको छ,” दुलाल भन्छन् । उनका अनुसार थोरै जमिनमा पनि लगनशील भएर काम गरे वैदेशिक रोजगारीभन्दा राम्रो आम्दानी लिन सकिन्छ ।

हाल दुलाल आफ्नो “समृद्धि कृषि फार्म” मा श्रीमती र एक जना सहयोगीसँगै खेतीपातीमा संलग्न छन् । उनी भन्छन्, “कृषि व्यवसायलाई राज्यले सम्मान गर्नुपर्छ, तब मात्रै युवाको आकर्षण बढ्छ ।”




Leave a Reply

Your email address will not be published.