भारोत्तोलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र ११ कास्य

भारोत्तोलन खेलाडीको नेपाली टिम  । तस्बिरः राष्ट्रिय खेलकुद परिषद

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत नेपालले भारोत्तोलन प्रतियोगितामा हालसम्मकै उत्कृष्ट नतिजा हात पारेको छ । नेपालले कुल २० इभेन्टअन्तर्गत सहभा।गी १६ इभेन्टमा २ स्वर्णसहित १६ पदक हात पारेको छ ।

पोखरामा ४ दिनसम्म चलेको प्रतियोगितामा नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य पदक जित्न सफल भएको हो । शनिबारसम्म १४ पदक जितेकोमा अन्तिम दिन आइतबारको खेलबाट नेपालले १ रजत र १ कास्य थप गरेको हो ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानको सहभागिता थियो । प्रतियोगितामा भारतले सर्वाधिक ९ स्वर्ण जित्दा पाकिस्तानले ६ तथा नेपाल, बंगलादेश र श्रीलंकाले समान २–२ स्वर्ण जिते । भुटानले १ मात्र कास्यमा चित्त बुझायो ।

नेपालको तर्फबाट सञ्जु चौधरी (महिला ५९ केजी) र विकास थापा (पुरुष ८९ केजी) तौल समूहमा स्वर्ण जितेका हुन् । महिलातर्पm नेपालले ऐतिहासिक पहिलो स्वर्ण जितेको हो । अघिल्लो १२ औं संस्करणसम्म नेपालले भारोत्तोलनमा १ मात्र स्वर्ण सहित २३ रजत र ८६ कास्य जितेको थियो । पहिलो स्वर्ण लिफ्टर कमलबहादुर अधिकारीको नाममा छ ।

यसैबीच, आइतबारको खेलमा नेपालका लागि सागर भण्डारीले पुरुष १ सय ९ केजी तौल समूहमा रजत पदक जित्न सफल भएका छन् । सो समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर बुटले स्वर्ण जिते । उनले स्न्याचतर्फ १ सय ५० र क्लीन एण्ड जर्कमा १ सय ८१ सहित कुल ३ सय ३१ किलो भार वहन गरेका हुन् ।

सागरले राष्ट्रिय रेकर्ड कायम गर्दै स्न्याचतर्फ १ सय २० र क्लीन एण्ड जर्कमा १ सय ५५ गरी कुल २ सय ७५ केजी तौल उठाएका हुन् । यसअघि सागको छनोट चरणमा आफ्नो नाममा तीनै विधाको रेकर्ड १३ औं सागमा उनले भङ्ग गरी नयाँ रेकर्ड कायम गरेका हुन् ।