पथरी / पथरीशनिश्चरे नगरपालिका–२ स्थित रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्ड २०८२ मा देशभरबाट शीर्ष स्थान हासिल गरेका आफ्नै दुई विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ।

शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमार्फत ३.९६ जीपीए प्राप्त गर्दै नेपाल टपर बनेका चन्दन शाह र प्रवीण कट्टेललाई पथरी शनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्बापोले प्रत्येकी ५० हजार रुपैयाँ नगद, खादा, रुद्राक्ष माला र टीका अर्पण गर्दै सम्मान गर्नुभयो।
विद्यालयका निर्देशक तथा प्राचार्य टी.एन. तिम्सिनाका अनुसार यस वर्षको परीक्षामा कुल ५ लाख १० हजार ९८७ विद्यार्थी सहभागी भएका थिए, जसबाट रेडस्टारका यी दुई विद्यार्थी देशमै पहिलो भएका हुन्। रेडस्टारबाट कक्षा १२ मा सहभागी २७० मध्ये २६२ जना ग्रेडेड र ८ जना ननग्रेडेड रहेका थिए। प्राप्त नतिजाअनुसार ३१ जनाले ३.६ भन्दा माथि, १२७ जनाले ३.२ भन्दा माथि, ८९ जनाले २.८ भन्दा माथि र १५ जनाले २.४ भन्दा माथिको जीपीए ल्याएका छन्।
उक्त अवसरमा नगरकै उत्कृष्ट नतिजा हासिल गरेका ३.९२ जीपीए प्राप्त मनिषा पोखरेल र प्रमिश रिजाललाई पनि नगरप्रमुख तुम्बापोले नगद पुरस्कारसहित सम्मान गर्नुभयो।
सम्मानित विद्यार्थी शाह र कट्टेलले विद्यालय, शिक्षक, अभिभावक तथा साथीहरूको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे। विद्यालयले अघिल्ला वर्षहरूमा पनि उत्कृष्ट शैक्षिक उपलब्धि कायम गर्दै आएको छ। गत वर्षको एसईई परीक्षामा कक्षा १० का सतिश आचार्य र अजय लिम्बुले ४.०० जीपीए ल्याएका थिए भने हालैको बीबीएस प्रथम वर्षको नतिजामा कृतिका भट्टराईले ७६.८० प्रतिशत अंकसहित क्षेत्रमै उत्कृष्ट नतिजा हासिल गरेकी थिइन्।