पथरी / पथरीशनिश्चरे नगरपालिका–१० स्थित जिरिखिम्ती खेलमैदान जेठ १० गतेदेखि खेलकुदको चटारोले गुञ्जिने भएको छ। पहिलोपटक आयोजना हुन लागेको कञ्चनजंघा टी–२० क्रिकेट प्रतियोगिताले पूर्वी नेपालका खेलप्रेमीहरूको ध्यान खिच्न थालेको छ।

कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समूहको आयोजनामा हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लाका १६ वटा क्रिकेट टोलीहरूको सहभागिता रहनेछ। टि–२० फर्म्याटमा हुने प्रतियोगितामा हरेक दिन दुईवटा खेल हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताका बारेमा हिजो (बिहिवार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै समूहका सचिव प्रेम केडीले विजेता टिमलाई रु. ५०,००० नगदसहित ट्रफी, उपविजेतालाई रु. ३३,३३३ नगद, र उत्कृष्ट फिल्डर, ब्याट्सम्यान, बलर, उदयमान खेलाडी तथा सर्वश्रेष्ठ खेलाडीलाई पनि नगदसहित ट्रफी प्रदान गरिने बताए।
कार्यक्रममा प्रतियोगिताका लागि तयार पारिएको आकर्षक जर्सी समेत सार्वजनिक गरियो। समूहका अध्यक्ष सागर थापाका अनुसार प्रतियोगिता सञ्चालनमा रु. ३ लाख ५० हजारभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।
प्रतियोगितालाई सफल बनाउन स्थानीय डाँस मोरङ सामुदायिक वन मुख्य प्रायोजक बनेको छ भने ग्लोबल भुटानीज अर्गनाइजेसन सह-प्रायोजकका रूपमा रहेको छ।
यस प्रकारको प्रतियोगिताले जिरिखिम्ती क्षेत्रलाई खेलकुद गन्तव्यका रूपमा चिनाउन टेवा पुग्ने देखिन्छ। स्थानीय युवाहरूमा क्रिकेटप्रतिको मोह र प्रतिभाको पहिचान गर्न यसले विशेष भूमिका खेल्ने विश्वास गरिएको छ।