नगर खेलकुद महोत्सव : नाजिरिन एफ.सिलाई हराउदैप्रभात एस. एफ.सी. फाईनल प्रवेश

पथरी / पथरी शनिश्चरे नगरपालिकामा जारी फुटबल प्रतियोगितामा प्रभात एस. एफ.सी. फाइनलमा प्रवेश गरेको छ । हिजो (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा प्रभातले नाजरिन एफसीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

पथरी रंगशालामा भएको सेमिफाइनलमा प्रभातले नाजरिन फुटबल क्लबलाई ४–० ले स्तब्ध पार्दै फाईनल यात्रा तय गरेको हो । प्रभातका लागि सुरुवातकै ११ मिनेटमा स्ट्राईकर अर्सित कार्कीले पहिलो गोल गर्दै आफ्नो टिमको लागि खाता खोलेका थिए । दिपेन माझीले हानेको फ्री–किक पोलमा ठोक्किएर फर्केपछि अर्सितले गोल गरेका थिए ।

१८ औं मिनेटमा प्रभातका क्याप्टेन सौर्य राउतले गोल गर्ने सुन्दर अवसर पाए पनि गोलमा परिणत गर्न सकेनन् । नजरिनका दिवान राईले २९ औं र ३२ औं मिनेटमा पाएको गोल गर्ने अवसर पनि खेर फालेका थिए । उनको दुवै प्रहार पोल माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफमा १–० ले अग्रता लिएको प्रभातले दोस्रो हाफको शुरूवातमा गोल गर्ने अवसर पाए पनि खेलाडी समीर याक्खाले गोल गर्न सकेनन् । याक्खाले गोल गर्ने दुईवटा सुन्दर अवसरहरु खेर फालेपनी ४९ औं मिनेटमा धिरेन क्षेत्रीले गोल गर्दै क्लबलाई २–० को अग्रता दिलाएका थिए ।

खेलको म्यान अफ द म्याच घोषित स्ट्राईकर अर्सित कार्कीले ६० औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए भने ३० सेकेन्ड बित्न नपाई पुनः १ गोल थपेर ह्याट्रिक पूरा गरेका थिए । आजको खेल देविगञ्ज एफ.सी. सुनौलो कल्यांण एफ.सी. बीचको दोस्रो सेमिफाइनल खेल हुनेछ ।




Leave a Reply

Your email address will not be published.