फेन्सिङमा नेपालले जित्न सकेन स्वर्ण

काठमाडौंः नेपालकी रविना थापा फेन्सिङमा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेकी छन् । फेन्सिङको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरको फाइनलमा बंगलादेशकी मुजिब फतिमासँग १५–१० ले पराजित भएपछि रविनाले रजतमै चित्त बुझाइन् ।

सेमीफाइनलमा नेपालकै अस्मिता बस्नेतलाई पराजित गर्दै उनी उपाधि नजिक पुगेकी थिइन् । अस्मिता र भारतकी डायनादेवी थिङ्गुजामले कास्यमा चित्त बुझाए ।

महिला इपीमा भने नेपाली खेलाडी सेमीफाइनलमै स्तब्ध बने । नेपालका जानुका स्याङ्तान र इन्दिरा पौडेल सेमीफाइनलमा भारतीय खेलाडीसँग पराजित भएपछि कास्यमै चित्त बुझाउन बाध्य भए । यस स्पर्धामा भारतकी कवितादेवी थाउदामले स्वर्ण र शीतल दलालले रजत जिते ।

पुरुषको व्यक्तिगत फ्वेलतर्फ भने भारतीय खेलाडीले दबदबा कायम राखे । भारतका विनोथकुमार भेलाउथामले स्वर्ण, राजेश्वर सिंहले रजत जिते । यस्तै श्रीलंकाका थारिदु मधुमल कन्दना र बंगलादेशका रुबेल मियाले कास्य जिते ।

फेन्सिङमा आइतबारदेखि टिम इभेन्टको प्रतिस्पर्धा शुरु हुनेछ । फेन्सिङमा अहिलेसम्म भारतले ५ र बंगलादेशले १ स्वर्ण जितेको छ ।