फाउण्डेसन स्थापना गरी सामाजिक काम गर्दै गायिका देशु गोले

काठमाडौंः गायिका देशु गोलेले देशु गोले फाउण्डेसन नेपाल नामक सामाजिक संस्थामार्फत् सामाजिक काम गर्न थालेकी छिन् ।

बेलायतमा बस्ने गोले नेपाल आएर गीत रेकर्ड गर्ने तथा विभिन्न सामाजिक सेवा गर्ने काम गर्न थालेकी छिन् ।

गोलेले धरान १५ श्यामचोकमा रहेको नियूने लाखाङ्ग गुम्बा निर्माण र गुम्बाका लागि आवश्यक सामग्री खरिद गर्न ८ लाख ३० हजार रुपैयाँ सहयोग प्रदान गरेको बताएकी छिन् ।

सो गुम्बामा आश्रित अनाथ तथा असहाय बालबालिकाको शिक्षाका लागि देशु गोले फाउण्डेसनले ६ लाख ३६ हजार ८ सय २० रुपैयाँको अक्षय कोष स्थापना गरेको बताइएको छ ।

कोषको ब्याजबाट अनाथ तथा असहाय बालबालिकाको शिक्षामा खर्च गरिने गुम्बाले जनाएको छ । सो अक्षयकोषमा रकम सहयोग गर्न बेलायतमा आह्वान गरेअनुरुप सो रकम सङ्कलन भएको फाउण्डेसनले जनाएको छ । गुम्बाले सडकबाट उद्दार गरिएका १२ जना बालबालिकालाई आवास र भोजनसहित १० कक्षासम्म अङ्ग्रेजी माध्यममा पढाउने जनाएको छ ।

सुरेन्द्र बमजनको उपचारको लागि १६ हजार र धरान फुटबल क्लबलाई २५ हजार सहयोग गरिएको पनि फाउण्डेसनले जनाएको छ ।