नगरद्वारा ५ विपन्न परिवारलाई आवासीय घर हस्तान्तरण

पथरी / पथरी शनिश्चरे नगरपालिले नगरका अति विपन्न ५ परिवारको आवासीय घर निर्माण पूरा गरी हस्तान्तरण गरेको छ ।
विहिबार नगर उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा ५ परिवारलाई आवासीय घर हस्तान्तरण गरिएको हो ।

विपन्न नागरिक आवास सम्वन्धि कार्यविधि २०८० अन्तर्गत लक्षित वर्गलाई आवासीय घर निर्माण पश्चात् हस्तान्तरण गरिएको हो । वडा नं. ३ का धनबहादुर लिम्बु, वडा नं. ५ का चुडाकुमारी पौडेल, द्रोणपति ऋषिदेव, वडा नं ६ का नारायण पोखरेल र वडा नं. ७ का लिलामाया आङ्देम्वेलाई आवासको चाबी हस्तान्तरण गरिएको छ । सो आवासीय घरमा तीन वडा कोठा, टिनको छानो र बिजुली जडान गरिएको छ । यसैगरी नगरका अन्य विपन्नहरुको आवास पनि क्रमागत रुपमा निर्माण गर्दै हस्तान्तरण गरिने नगर उप–प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

सो आवास हस्तान्तण कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष एवं अनुगमन समितिका संयोजक वीरबहादुर राई, वडा नं. ६ का वडाध्यक्ष कृष्णकुमार बस्नेत, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ३ का वडाध्यक्ष बिजय लिम्बु, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, नगर योजना शाखा प्रमुख तथा सूचना अधिकारी शिव कुमार राई, नगरका प्राविधिक, वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।