बेलवारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप ११ गतेबाट

प्रेम के.डि
पथरी / ७ औँ बेलवारी आरजु अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज ११ गतेदेखि सुरु हुने भएको छ । बेलवारी ११ लक्ष्मिमार्गस्थित प्रस्तावित लक्ष्मीमार्ग रंगशालामा हुने उक्त प्रतियोगिताको तयारीबारे आइतवार आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

लक्ष्मीमार्ग युवा क्लवको आयोजनामा सञ्चालन हुनलागेको उक्त प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लब काठमाडौँ, चित्लाङ फुटबल क्लब काठमाडौँ, बुटवल लुम्बिनी फुटबल क्लब, झापा–११ फुटवल क्लव, सलहेश युवा क्लब सिरहा, भोजपुर जिल्ला फुटबल संघ, रारा फुटबल क्लब, नेपाल पुलिस क्लब, भारतको दलसिंहपारा स्पोर्टस एकेडेमी जयगााउ वेस्ट बंगालले र आयोजक एल एक्स सिटी फुटबल क्लब गरि १० वटा टोलिले सहभागिता जनाउने अध्यक्ष विक्रम राइले बताए ।

पत्रकार सम्मेलनमा २ तोला सुन र २ किलो ५ सय ग्राम चाँदी जडित शिल्ड समेत सार्वजनिक गरिएको थियो जसलाई लक्ष्मीमार्ग निवासी पोपिराज राई र ज्योतीराज राईले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा सौजन्य गरेका हुन् । प्रतियोगिताका विजेताले उक्त शिल्डसहित नगद ८ लाख रुपैयाँ पुरस्कारराशि प्राप्त गर्नेछन भने उपविजेताले नगद रु ४ लाख प्राप्त गर्नेछन् । करिव ६० लाख खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा म्यान अफ दि म्याच, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उदयिमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षक लगायतका विधामा समेत पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ ।