इनरुवामा पहिलो पटक विद्यापति समारोह हुने

इनरुवाः सुनसरी सदरमुकाम इनरुवामा पहिलो पटक विद्यापति समारोह हुने भएको छ । मैथिली सेवा समिति इनरुवाले भोलि मंसिर २१ गते शनिबार विद्यापति समारोह तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रमअनुसार बिहान प्रभातफेरी तथा विद्यापतिको शालिकको शिलान्यास, दिउँसो कार्यक्रम उद्घाटन तथा राती सांस्कृतिक कार्यक्रम हुने कार्यक्रम संयोजक जीवानन्द झाले जानकारी दिए । इनरुवा– ४ को रामजानकी मन्दिर तथा गुठी परिसरमा विद्यापति विशेष समारोहको आयोजना हुने आयोजकले जनाएको छ ।

शनिबार बिहान प्रभातफेरी तथा इनरुवा बसपार्क नजिकै विद्यापति स्मारक शिलान्यास गरिने भएको छ । दिउँसोको उद्घाटन समारोहमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, प्रदेशमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, स्थानीय तहका प्रमुख र भारतको बिहार राज्यका जलस्रोत मन्त्री सञ्जय झा लगायतका व्यक्ति सहभागी हुने बताइएको छ ।

शनिबार साँझ ६ बजे मैथिल सांस्कृतिक तथा हास्यव्यङ्ग्य कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रमका लागि १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।