नगरका ४ औषधि पसलको अनुगमन गर्दा ४ वटैमा सिल, म्याद गुज्रिएका र प्रतिवन्धित अौषधि जफत

पथरी / पथरी शनिश्चरे नगरपालिका, इलाका प्रहरी कार्यालय पथरी र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले पथरी शनिश्चर नगरपालिकाको औषधि पसलहरुमा शिलबन्दी गरेको छ ।

बुधवार नगर उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा गरिएको अनुगमन टोलीले ४ वटा औषधि पसलमा सिल गरेको हो । जसअन्तर्गत पथरी शनिश्चरे वडा नं. ९ को पुलचौकको कुबेर भण्डारीको औषधि पसल, वडा नं. ७ को बकैना डाँडामा आफ्नै निवासमा सञ्चालित प्रेम लिम्बुको औषधि पसल सिल गरिएको छ । उनीहरु दुवै औषधि पसलको दर्ता प्रमाण–पत्र नभएको र मिति सकिएका औषधिहरु पसलमा भेटिएकोले सिल गर्नुपरेको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत अनिल परियारले जानकारी दिनुभयो ।

यसैगरी वडा नं. ६ को भातेगौडामा रहेको औषधि पसल र वडा नं. ४ को सम्झना चौकमा रहेको औषधि पसल हेमराज चन्द्रवंशीले सञ्चालन गरिरहेको खुल्न आएको छ । उक्त दुवै स्थानका औषधि पसलमा प्रतिवन्धित अौषधिहरु समेत पाइएपछि त्यस्ता अौषधि जफत गरि सिल गरिएको छ । सो अनुगमनमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहाल, नगरका स्वास्थ्य शाखाका सिअहेव एकराज खत्री, जनप्रतिनिधिहरु, सञ्चारकर्मीहरु र नगर प्रहरीको उपस्थिति रहेको थियो ।