लोकतान्त्रिक समावेसी व्यावसायीक साझा गठबन्धन’को प्रतिबद्धताः व्यावसायीहरूको निःशुल्क दुर्घटना विमा योजना

उर्लाबारी / आगामी भदौ-९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि चार प्रमुख राजनैतिक दलका प्रतिनिधिहरूको समन्वयमा बनेको ‘लोकतान्त्रिक समावेसी व्यावसायीक साझा गठबन्धन’ले उम्मेदवारहरूको घोषणा गरेको छ ।

गठबन्धनले अध्यक्षका लागि तारामान सिरेङ (लिम्वु) को नेतृत्वमा साझा प्यानलको घोषणा गर्दै व्यावसायिक हितका लागि नयाँ योजनाहरू प्रस्तुत गरेको छ। यस योजना अन्तर्गत, संघका सदस्य व्यावसायीहरूलाई रु. १ लाख बराबरको निःशुल्क दुर्घटना विमा योजना प्रदान उद्घोष गरेको छ । यस योजनाले व्यावसायिक दुर्घटनामा परेका व्यावसायीलाई आपतकालीन अवस्थामा राहत र सहयोग प्रदान गर्ने लक्ष्य राखेको छ ।

२०८० सालको कार्तिक २६ गते उर्लाबारी-७ को स्नेहा सुनचादी पसलमा लागेको विनाशकारी आगलागी नियन्त्रणको प्रयास गर्दा गम्भिर घाईते बन्नुभएका सिरेङ २४ दिनको कठिन उपचारपछि जीवित फर्कनुभएको थियो । सोही घटनाबाट बाकी जिवन व्यावसायीहरुको हितमा सर्मपित गर्ने अठोट लिनुभएका सिरेङले व्यवसायीहरूका लागि दुर्घटना विमा योजना ल्याउने निणर्य गर्नुभएको हो ।

उहाले भन्नुभयो-“वाणिज्य संघले राहत कोषमार्फत प्राकृतिक विपतका घटनामा सहयोग गर्दै आएको छ, तर यसपटक नयाँ नेतृत्वको लागि चुनावी मैदानमा होमिएको गठबन्धनले व्यावसायीहरूको लागि थप प्रभावकारी राहत र सहायता योजनाहरू ल्याउने लक्ष्य राखेको छ ।”

सिरेङले २०६१ सालमा उर्लाबारीमा तारा कोल्ड स्टोर सञ्चालन गरेर व्यावसायिक यात्रा सुरू गर्नुभएको थियो । त्यसपछि उहाले २०६६ सालदेखि उर्लाबारी उद्योग वाणिज्य संघको सदस्य पदमा निर्वाचित हुँदै संघको यात्रा तय गर्नुभएको हो ।

त्यसपछि उहाले महासचिव पदमा निर्वाचित भएर संघलाई महासंघको सदस्यता दिलाउने महत्वपूणर् कार्य गर्नुभएको थियो । २०७२ सालमा वरिष्ठ उपाध्यक्षको पदमा निर्वाचित भइ ‘प्राकृतिक प्रकोप कोष’ स्थापना गर्न पहल गर्नुभएका सिरेङले यसपटक चुनावमा ‘लोकतान्त्रिक समावेसी व्यावसायीक साझा गठबन्धन’ को नेतृत्वमा चुनावी मैदानमा होमिनु भएको हो ।

नयाँ नेतृत्वका लागि उम्मेदवारहरूको १६ सदस्यीय टिममा नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा तारामान सिरेङ, वरिष्ठ उपाध्यक्षमा निर्मला चौहान, उद्योग उपाध्यक्षमा प्रभु राई, वाणिज्य उपाध्यक्षमा राम प्रसाद धिमाल, महासचिवमा माओवादी समर्थक पवन चौधरी, उद्योग सचिवमा भेषबन्धु निरौला, वाणिज्य सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा दशरथ यादव (बेचन), र सदस्यमा फुर्वा तामाङ, मदन धिमाल, दीपक कार्की, केशव भट्टराई र सोम बहादुर गजमेर रहनु भएको छ ।

लेखा समिती संयोजकमा राप्रपाका मनोज लुइटेल, र सदस्यमा मोहन पाठक र माओवादीका वासु घिमिरे उम्मेदवार चयन हुनु भएको छ ।

माओवादीका केन्द्रीय सदस्य बिशेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा भएको उम्मेदवार घोषणा कार्यक्रममा, कांग्रेसका कोशी प्रदेशका सहमहामन्त्री खड्गबहादुर फागोले आर्थिक मन्दीको चपेटामा परेका व्यावसायीहरूको राहतका लागि एकजुट भएर काम गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा, माओवादीका केन्द्रीय सदस्य बिशेन्द्र चेम्जोङ, राप्रपाका ज्ञानेन्द्र ओली माओवादीका यामलाल रसाईली, टेकबहादुर भट्टराईले गठबन्धनका उम्मेदवारहरूको इमानदारीता र प्रतिबद्धतामा माथी विश्वास व्यक्त गर्दै गठबन्धनका उम्मेदवारहरूको समर्थन गर्न व्यावसायीहरुलाई आह्वान गर्नुभएको छ ।