त्रिशुलीमा बेपत्ता दुई बसको बिहानैदेखि खोजी शुरु

चितवन / त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्य शनिबार बिहानैदेखि पुन: शुरु भएको छ । सशस्त्र प्रहरीको गोताखोर सहितका टोली सहित नेपाली सेना, नेपाल प्रहरीले दुर्घटना भएको बसको विहानै देखि खोजी कार्य सुरु गरेको हो ।

यस अघि शुक्रबार गरिएको खोजी कार्यमा बिरगंञ्जबाट आएको एन्जल बसको पर्दा र दश वर्ष भन्दा सानो बालकले लगाउने ट्याग सुट भेटिएको प्रहरीले जनाएको छ । गाडीको पर्दा र ट्याग सुट सहितका यात्रुका केही समान छरपस्ट रूपमा शुक्रवार नै त्रिशूली किनारमा भेटिएका थिए । गोताखोर टोलीले पानी भित्र र बाहिर खोज कार्य जारी राखेको छ ।

अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकको सिमल तालमा शुक्रवार बिहान पहिरो जाँदा दुवै बसमा गरी कम्तिमा ५१ यात्रुसहित दुई बस त्रिशूलीमा बेपत्ता रहेका छन् ।

त्रिशुलीमा हराई रहेका बसका तीन यात्रु भने पौडिएर बाहिर निस्किएका थिए । नदीमा पौडी खेलेर बाच्न सफल भएका रौतहटका नन्दन दास, रौतहट गरुडा — ९ जुगेश्वर राययादव र रौतहट सरोज गुप्ता रहेका छन् ।

काठमाडौँबाट गौर जान नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ००१ख २४९५ नम्बरको गणपति डिलक्स बस र बिरगंञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३—००६ख— १५१६ नम्बरको एन्जल्स डिलक्स बस त्रिसूलीमा खसेको हो ।

अहिले नदीमा बेपत्ता भएकाका परिवार पनि नदीमा खोजी कार्यका लागि सुरक्षाकर्मीहरूलाई सहयोग गरी रहेका छन् । कतिपय वेपत्ताका परिवार अहिले घटना स्थलमा आई पुगेका छन् ।