टेनिसको दुवै टिम इभेन्टबाट बाहिरियो नेपाल

काठमाडौंः १३औं दक्षिण एशियाली खेलकुदअन्तर्गत टेनिसको टिम इभेन्टमा नेपालका दुवै टिम सेमीफाइनलबाट बाहिरिएका छन् । नेपालका दुवैै टिम भारतसँग पराजित भएका हुन् ।

पुरुषतर्फको टिम इभेन्टमा भारतले नेपाललाई ३–० ले हरायो । सिंगल्सतर्फ नेपालका प्रवण खनाल भारतका मनिष सुरेश कुमारसँग ६–१ र ६–० ले पराजित भए । अर्को सिंगल्समा संरक्षक बज्राचार्य साकेथ माइनेनीसँग ६–१ र ६–१ ले हारेपछि डबल्स अघि नै भारतले फाइनलमा स्थान बनाएको हो ।

डबल्सतर्फ बज्राचार्य र खनालको जोडी निकीकलियान्दा पुनाचा र श्रीराम बालाजी नारायण स्वामीसँग ६–३ र ६–२ ले पराजित भए ।

पुरुष टिमइभेन्टको स्वर्णका लागि भारतले पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानले भुटानलाई ३–० ले नै हराएको थियो ।

सिंगल्सतर्फ मोहम्मद अविदले पेमा नोर्बुलाई ६–० र ६–० तथा मुजामिलमुर्तजाले तान्दिन वाङचुकलाई ६–१ र ६–२ ले हराए । डबल्सतर्फ मुहम्द अबिद र मुजामिलमुर्तजाको जोडीले निदुपग्याल्छेन र पेमा नोर्बुको जोडीलाई ६–२ र ६–० ले हरायो ।

महिला टिम इभेन्टमा नेपाल भारतसँग ३–० ले नै पराजित भयो । सलोनी तामाङ भारतकी भुवनाकाल्भासँग ६–२ र ६–१ ले तथा प्रेरणा कोइराला सत्विका समासँग ६–१ र ६–० ले हारिन् । डबल्समा प्रेरणा र सलोनीको जोडी भारतका प्रेरणाभाम्ब्री र श्रब्याशिभानी चिलाकलापुडीसँग ७–५ र ६–१ ले पराजित भए ।

महिला टिम इभेन्टको फाइनलमा भारतले श्रीलंकासँग खेल्नेछ ।