सागमा गल्फ आजदेखि

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत गल्फ खेल मङ्गलबारदेखि पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शुरु भएको छ । प्रतियोगितामा सहभागी खेलाडीले सोमबार अभ्यास खेल खेलेका छन् ।

सागमा पुरुष व्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंका गरी ३ देशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कास्य पदक पक्का भएको छ । भुटानले पुरुष टिम स्पर्धामा भाग लिएको छैन । भुटानबाट निम दोर्जी तामाङ एक्लै व्यक्तिगत स्पर्धामा सहभागी छन् । पाकिस्तानले अन्तिममा आएर गल्फ नखेल्ने निर्णय गरेको थियो ।

पुरुष टिम स्पर्धामा पनि सहभागी देशको कम्तीमा कास्य पदक पक्का भएको छ । गल्फको पुरुष स्पर्धामा नेपालले स्वर्ण पदक जित्ने लक्ष्य राखेको नेपाली टोलीका व्यवस्थापक सीबी भण्डारीले बताए । नेपालका खेलाडीले दैनिक औसत ३ अन्डर पार खेलिरहेका छन् । पुरुषमा नेपालले व्यक्तिगत र टिम स्पर्धा दुवैमा स्वर्ण जित्ने देखिएको भण्डारी बताउँछन् ।

नेपालका महिला गल्फ खेलाडीको तयारी पछि मात्र शुरु गरिएकोले केही भन्न नसकिने भण्डारीले बताए । गल्फमा पुरुषतर्फ नेपालबाट टंकबहादुर कार्की, शुक्रबहादुर राई, सुवास तामाङ र निरज तामाङले प्रतिस्पर्धा गर्नेछन् । महिलामा कस्मिरा शाह, रबिना श्रेष्ठ र सुषमा कोइरालाले प्रतिस्पर्धा गर्दैछन् । साग गल्फमा ४ स्वर्ण, ४ रजत र ४ कास्यका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकको हिसाबले नेपालले सागमा गल्फ खेल राखेको हो । गल्फ खेल ‘स्टोक प्ले’ विधामा ७२ होलको हुनेछ ।