जो अगुवा उहीँ बाटो…..

उर्लाबारी / मोरङको उर्लावारी९३ मंगलबारेस्थित किरात राई यायोख्खा उर्लाबारी नगरसमितिले घेराबारा गरेको झण्डै डेढ बिघा जग्गा र यायोक्खाको कार्यालय संरक्षण गर्न बसेका ब्यक्तिबाटै असुरक्षित बन्दै गएको थप तथ्यहरु खुल्न थालेका छन् ।

‘चौकिदारबाटै असुरक्षित साकेला थान शिर्षकमा समाचार प्रकाशन भएपछि किराँत राई यायोक्खा उर्लाबारी नगरसमितिले एक विज्ञप्ति जारी गर्दै समाचार निराधार भएको आरोप लगाएको थियो । समाचारलाई फलोअप गर्ने क्रममा यायोक्खा उर्लाबारी नगरसमितिका अध्यक्ष भिमबहादुर राईसँग प्रतिक्रिया लिँदा संरक्षण गर्न बसेका नारायण चाम्लिङले केही गल्ती गरेको अध्यक्षले स्विकारेका छन् ।विज्ञप्ति निकालेर किन बचाउ गर्नु भएको भन्ने जिज्ञासामा राईले कुनै जवाफ दिन सकेनन ।

एकातिर संस्थाको माया हुँदा हुँदै सामाजिक दबाबका कारण विज्ञप्ति निकाल्नु परेको उनले संकेत गरेका छन् ।उनले सहमतिविपरीत नारायण चाम्लिङले गतिविधि गरिरहेको र उक्त समाचार बिरुद्ध विज्ञप्ति निकाल्दा गल्ती हुने भएपनि आफुहरुले बहकाउमा लागेर निकालेको कुरा स्विकार गरे । संस्थाका उपाध्यक्षले त नारायण चाम्लीङ र उनका परिवारको रजाईबाट आजित भएर ५ महिनाअघि नै राजिनामा दिएको भएपनि राजिनामा स्विकृत नभएको बताए । नारायण चाम्लिङले त्यहाँका रुख काट्ने, बल्लाबल्ली बेच्ने, रक्सी पार्ने, संस्थाको निर्णय नै नभइ संरक्षित क्षेत्र भित्र घर बनाउने गतिविधि गरेपछि आफु त्यहाँ निगरानी गर्ने क्रममा अबैध ब्यापार समेत भएको आफैले देखेको अध्यक्षको भनाइ छ ।

संरक्षणकर्ताबाट यतिका लापरबाहि भएको भएपनि आफुले उक्त समाचार पनि नपढी अरुले सुनाएको भरमा माइनेटिङ गराई पदाधिकारीको घरघरमा पुगेर माइनेटिङमा हस्ताक्षर गराई विज्ञप्ति निकालेको अध्यक्ष राईले स्विकार गरे । यहाँसम्मकी आफु लामो समयसम्म उक्त संरक्षित एरियामा नपुगेकोले समाचारमा भनिएजस्तो भएको हो कि हैन भन्नेमै हालसम्म आफु जानकार नरहेको बताए ।