नगर खेलकुद महोत्सव : नाजारिन युथ क्लब फाइनलमा प्रवेश

पथरी / नाजारिन युथ क्लब टाइब्रेकरमा देविगन्ज एफ.सी.लाई पराजित गर्दै पथरीमा जारी पथरी शनिश्चरे खेलकुद महोत्सव फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको सेमिफाइनल खेलमा नाजारिनले देविगन्जलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिरिजंगा एफ.सी.सँगको फाइनल खेलको भेट तय गरेको हो । निर्धारित खेलको समयमा नाजरिनका दिरिङहाङ राईले १३ औं मिनेटमा गोल गरेका थिए भने खेलको दोस्रो हाफमा देविगन्ज एफ.सी.का सनम धिमालले १३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । खेल अवधिभर निक्कै उत्कृष्ट खेल प्रदर्शन गरे पनि गोल गर्न चुक्दा देविगन्जले हार वेहोर्नुपर्यो ।खेलको म्यान अफ द म्याच विजेता टिम नाजारिनका गोलकिपर बादल लिम्बु घोषित भए । लिम्बुलाई वडा नं. २ का अध्यक्ष नैना राईले नगद र ट्रफी प्रदान गर्नुभएको थियो ।

आइतबारको खेल एक मात्र महिला फुटबल प्रतियोगिता पथरी –११ र राइजिङ स्टार बीच हुने आयोजकका सदस्य सचिव नविन खुलालले जानकारी दिनुभयो । फुटबल खेलको फाइनल खेल १५ गते हुनेछ ।