हरियाली वन लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

पथरी /  मोरङको पथरीशनिश्चरे वडा नं. २ मा रहेको हरियाली वन लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको सो सभाले आगामी वैशाखदेखि स्वीमिङ पुल लगायत पर्यटकीय क्षेत्र सञ्चालन सुरु गर्ने लगायतका निर्णय गर्दै दोस्रो वार्षिक साधारणसभा समापन गरेको हो ।

कम्पनीको अध्यक्ष अशोककुमार राईको सभापतित्वमा हरियालीको सभा हलमा भएको सो साधारण सभामा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, ७ नंं वडा अध्यक्ष उद्धव बस्नेत, हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगर, सव डिभिजन वन कार्यालय पथरीका प्रमुख दिवश चौधरी, देविप्रसाद भेट्वाल, केशव दाहाल लगायतले शुभकामना दिएका थिए । कार्यक्रम कम्पनीको सदस्य रोहित बास्तोलाले सञ्चालन गरेका थिए ।

साधारणसभामा अध्यक्ष अशोककुमार राईद्वारा प्रस्तुत प्रगति प्रतिवेदनमा व्यवस्थित पानी पोखरी (स्वीमिङ पुल, वाल/वयस्क), चेन्जिङ रुम, पानी फिल्टर रुम, शौचालय, चमेना गृह, टिकट काउण्टर, सुरक्षा बीट, सवारी सधान पार्क लगायत तयारी भएको र आगामी २०८१ बैशाख १ गते सांगीतिक, साँस्कृतिक कार्यक्रम सहित उद्घाटन गरिने उल्लेख गरिएको थियो । हरियाली सामुदायिक वन लिमिटेडले २० करोड बढीको लगानीमा नेपालको आकारको बोटिङ पोखरी, स्वीमिङ पुल, गेष्ट हाउससहितको रेष्टुरेन्ट, बाल उद्यम, विज्ञान प्रदर्शनी, यलम्बरको मूर्ति लगायत खुल्ला संग्रहलय, वन भोज स्थल, कार्यक्रम हल लगायतको डीपीआर निर्माण गरेर भौतिक संरचना निर्माण थालेको छ ।

हरियाली सामुदायिक वन उपभोक्ताको वन क्षेत्रमा उपभोक्ताहरुलाई शेयर सदस्य रहनेगरी पर्यपर्यटनको विकास गर्ने उदेश्यले लिमिटेड दर्ता गरेर काम सुरु भएको हो । कम्पनीमा हाल ८६१ शेयर सदस्य रहेका छन् ।