भुल्के पशुपति सामुदायिक वनको अध्यक्षमा कविराज चेम्जोङ सर्वसम्मत

पथरी / मोरङको पथरीशनिश्चरे–१० मा रहेको भुल्के पशुपति सामुदायिक वन उपभोक्ता समूहको १२ औं चुनावी साधारणसभाबाट अध्यक्षमा कविराज लिम्बू सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार सम्पन्न चुनावी साधारणसभाले चेम्जोङको अध्यक्षतामा नव कार्यसमिती चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा शारदा कार्कि, सह–सचिवमा अनुप बगाले (थापा) तथा कोषाध्यक्षमा पूर्णिमा तामाङ चयन भएका छन् ।

समूहको कार्यालय परिसरमा आयोजित साधारणसभामा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । साधारणसभाका अवसरमा समूहले कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने विपन्न वर्गका २५ जना छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, विशिष्ट अतिथि फेकोफन प्रदेश सचिव रेणुका दाहाल, सदस्य अग्नी पौडेल, फेकोफन मोरङका उपाध्यक्ष मदन पोखरेल, फेकोफन पथरीशनिश्चरे नगर अध्यक्ष मैनादेवी फुयल आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिक साधारणसभाका अवसरमा पथरीशनिश्चरे वडा नं १० का अध्यक्ष जीवन खतिवडा, नगर कार्यपालिका सदस्य मिना योञ्जन, छिमेकी सामुदायिक वन अध्यक्ष, सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका अवसरमा समूहकी सचिव अनु राईले तत्कालिन जिल्ला वन कार्यालय मोरङमा वि.सं २०७३ असार १० गते विधिवत दर्ता भई सञ्चालनमा रहेको भुल्के पशुपति सामुदायिक वनले ४ सय घरपरिवारलाई काठ दाउरा तथा वन पैदावर उपलब्ध गराउँदै आएको जानकारी दिइन् । सचिव राईका अनुसार भुल्के पशुपति सामुदायिक वन उपभोक्ता समूहले १ सय ७४ दशमलब ८११ हेक्टर रहेका साल, कर्मा, बो।ध।, बर्रो, राजवृक्ष, अस्ना, जमुना, साधन जातका रुख विरुवाको संरक्षण र सम्बद्र्धन गर्दै आएको छ ।

समूहले २ जना वन हेरालु र एक जना चौकीदार नियुक्ति गरेर नियमित रुपमा वन संरक्षण र चोरी तस्करी नियन्त्रण गरिरहेको छ । वन संरक्षणका सम्बद्र्धनका लागि समूहले समयअनुसार अग्नी नियन्त्रण रेखा निर्माण, तार घेराबारा, डढेलो नियन्त्रण सचेतना गोष्ठी एवं वन पथ निर्माण, झाडी सफाई, विरुवा उत्पादन गरि रोपण गर्ने गरेको सचिव राईले जानकारी दिइन् ।

यस्तै, विवाह, ब्रतबन्ध तथा पूजा जस्ता सामाजिक कार्यका लागि समूहले सहुलियत दरमा दाउरा उपलब्ध गराउँदै आएको छ । उपभोक्ताको मृत्यु भएमा, अशक्त विरामी, सुत्केरी तथा काजकिरिया गर्नका लागि निःशुल्क दाउरा उपलब्ध गराएको सचिव राईको भनाई छ ।

कार्यक्रममा समूहको भावी कार्यक्रमका बारेमा जानकारी दिंदै अध्यक्ष पदम पाख्रिङले विभिन्न संघ संस्थाहरुसंग सुमधुर सम्बन्ध राख्दै अन्य समूहले गरेका राम्रा कामको अनुकरण गर्न अन्तरसमूह अवलोकन भ्रमण गरिने बताए । यस्तै समूहको घाटगद्दि उत्तरको सिमसार क्षेत्रलाई संरक्षण गर्दै पर्यापर्यटनको विकास गर्ने योजना रहेको अध्यक्ष तामाङले सुनाए । उनका अनुसार सिमसार क्षेत्रमा पाछा पोखरी, पानीको रिचार्ज सेन्टर निर्माण गरी किसानलाई सिंचाईमा उपयोग गर्ने वातावरण सिर्जना गर्ने लक्ष रहेको छ ।

समूहका उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउन महिला तथा युवा वर्गलाई सिपमुलक तालिमको आयोजना गरिने अध्यक्ष तामाङको भनाई छ । समूहको प्रत्येक टोल भेला गरी गाउँमा स्वास्थ्य तथा सरसफाई सचेतना कार्यक्रम सञ्चालन गर्ने समूहको योजना रहेको छ ।