जन्मजात कलेजो रोगी छ बर्षिया एन्जलको उपचारमा समस्या, आर्थिक सहयोगका लागि अपिल

अनु निरौला । बेलबारी । जन्मजात कलेजो रोगसँग लडिरहेकी मोरङ बेलबारी २ कि छ बर्षिया एन्जल धिमालको उपचारका लागि बनेको अभियान समितिले आर्थिक सहयोगका लागि अपिल गरेको छ । एन्जल धिमाल बचाउ अभियान २०८० ले शुक्रबार बिरामी धिमालकै निवासमा प्रेसपत्र सार्वजनिक गर्दै सहयोगका लागि अपिल गरेको हो ।

आर्थिक सहयोगका लागि अपिल गर्दै अभियानका संयोजक तथा बेलबारी वडा नं २ का वडाअध्यक्ष कृष्ण बहादुर गुरुङले कलेजो प्रत्यारोपणका लागि ४० लाख रुपैयाँ खर्च हुने अस्पतालले भनेको र बिरामीको परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले सम्पुर्ण सहयोगी मनहरुमा सहयोगको लागि अनुरोध गरेका छन ।

बिराटनगर, काठमाण्डौ हुँदै भारतको हरियाणा स्थित मेदान्त अस्पतालमा एन्जलको उपचार भइरहेको छ । छ बर्ष सम्म उपचार गर्दा २० लाख जति खर्च भइसकेको अवस्थामा एन्जलका बुबा वीरेन्द्र धिमाल हाल मलेसियामा मजदुरी गरिरहेका छन ।
छोरीलाई कलेजो दान गर्न आफु तयार भएपनि परिवारको आर्थिक अवस्थाले कलेजो प्रत्यारोपण गर्ने सम्भावना नरहेको एन्जलकी आमा कुमारी श्रेष्ठ धिमाल बताउछिन ।

परिवारले समाजसँग गुहार मागेपछि वडावासीहरुको भेलाले जेठ २३ गते एन्जल धिमाल बचाउ अभियान समिति निर्माण भएको थियो । एक्सल डेभलोपमेन्ट बैंक बेलबारी शाखामा एन्जल धिमाल बचाउ अभियान नाममा रहेको खाता नम्बर ०४००० २००२० ७२३३० ००००१ मा आर्थिक सहयोग गरिदिन समितिले अनुरोध गरेको छ । सङ्कलित रकमको विवरण दुरुस्त राखिने साथै सम्पूर्ण हिसाब सार्वजनिक गर्ने पनि समितिले जनाएको छ ।