सुन्दरहरैँचाको शिक्षा क्षेत्रः नियमन र अनुगमन नै फितलो भएको आरोप

सुन्दरहरैचा । सुन्दरहरैंचा नगरपालिका भित्र रहेका ३६ वटा सामुदायिक विद्यालयको ३९ स्थानमा पठनपाठन भइरहेको छ । नगरमा ४४ वटा संस्थागत विद्यालय रहेका छन् । शैक्षिक सत्र २०७९ को रेकर्ड अनुसार सामुदायिक विद्यालयमा १६ हजार ९ सय र संस्थागत विद्यालयमा १३ हजार १ सय गरी जम्मा ३० हजार विद्यार्थी पठनपाठन गरिरहेका छन् ।

७७ वटा बाल विकास केन्द्र मार्फत् बाल कक्षा समेत सञ्चालन भएको यस नगरपालिकाको चालु शैक्षिक वर्षको शैक्षिक गुणस्तर सुधार तर्फको कुल बजेट २ करोड ५६ लाख रुपैयाँ रहेको छ । यो बजेटमा ७७ जना बाल विकास सहजकर्ताको तलब समेत जोडिएको छ । सो तलब १ करोड ४० लाख रुपैयाँ हुन आउँछ । नगरको शैक्षिक गुणस्तर सुधारमा जम्मा १ करोड १६ लाख विनियोजन भएको देखिन्छ ।

झन्डै ३० हजार विद्यार्थीको शैक्षिक गुणस्तर सुधारलाई यो बजेट हात्तीलाई मेवाको दाना बराबर हुने शिक्षा क्षेत्रमा संलग्न रहेका व्यक्तिहरुले नै बताउदै आएका छन । उनिहरुले विधालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको सक्रियता मा समेत प्रश्न उब्जाएका छन । शैक्षिक क्षेत्रका एक व्यक्ती भन्छन : “तपाईंहरुले आफ्नो बौद्धिक क्षमता प्रयोग गर्ने कि चाकडीमै रमाउने ?”

चालु आर्थिक वर्षको बजेटमा शैक्षिक सुधारतर्फ आधारभूत विद्यालयलाई प्राथमिकतामा राखी बजेट बनाउन आवश्यक देखिन्छ । यता, विद्यालयको स्थलगत निरीक्षण गर्दा कतिपय शिक्षकहरु विद्यालय समय नसकिँदै विद्यालय छाडी जाने र चाकडी तन्त्रले गफमा रमाउने परिपाटी देखिएको छ ।
नगरप्रमुख केदारप्रसाद गुरागाईं भन्छन्, ‘आगामी आर्थिक वर्ष तालिम, गोष्ठी लगायतको सामाजिक विकास शीर्षकबाट ४० प्रतिशत बजेट कटौती गरी शिक्षा क्षेत्रमा लगाउने तयारी रहेको छ । शैक्षिक सुधारका लागि शिक्षक, अभिभावक र स्थानीय सरकार तिनै पक्ष जिम्मेवार हुनुपर्ने, एक पक्षमात्र जिम्मेवार भएर नतिजा नआउने भएकाले सबै पक्ष अग्रसर हुन आवश्यक छ । यस वर्ष शिक्षामा गत वर्षको भन्दा दोब्बर बजेट ल्याउने सोच रहेको छ ।’

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईँ भन्छन्, ‘हामी नीति, कार्यक्रम तथा बजेट निर्माणमा जुटेका छौँ । शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि आवश्यक बजेट विनियोजन गर्न सबै पक्ष सकारात्मक देखिन्छन् । सन्तुलन मिलाएर आउनेछौँ र शिक्षाको गुणस्तर सुधारका लागि लाग्नेछौँ ।’

शिक्षा निकेतन माध्यमिक विद्यालय सुन्दरहरैंचाका प्रधानाध्यापक ठाकुरप्रसाद सुवेदी आधारभूत तहमा जनशक्ति बढी हुँदाहुँदै पनि सोचेजति परिणाम आउन नसक्नु विडम्बनापूर्ण रहेको बताउँछन् । ‘शैक्षिक गुणस्तर तलदेखि माथिसम्म नै खस्किएको छ’, प्रधानाध्यापक सुवेदी भन्छन्, ‘अभिभावकले पनि पठनसंस्कृतिको विकास गर्न सकेको देखिँदैन । कम दरबन्दी, भौतिक पूर्वाधारको कमी, राजनीतिक हस्तक्षेप, शिक्षकको लगनशीलताको कमी, अभिभावकमा चेतनाको कमी, फर्निचरलगायतका सामग्रीको अभाव आदिका कारणले शिक्षा क्षेत्र पछि परेको हो ।’
शिक्षक पनि अनुशासित भएर नियमित रुपमा कक्षमा गएर पठनपाठनमा संलग्न हुनुपर्ने र उच्च मनोबलयुक्त भावका साथ पढाउनुपर्ने उनको भनाइ छ । शिक्षक छनोटमा प्रधानाध्यापकलाई अनावश्यक दबाब दिने प्रवृत्ति अन्त्य गर्ने हो भने यसमा धेरै सुधार हुन सक्छ । शिक्षकलाई दण्ड र पुरस्कारको पनि व्यवस्था गर्नुपर्ने सुवेदीले औँल्याए ।

नेपाल शिक्षक सङ्गठन सुन्दरहरैंचाका अध्यक्ष दुर्गाप्रसाद चौलागाईँ पनि पालिकाले अनुगमन गर्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘शिक्षा शाखाले प्रत्यक्ष रुपमा मासिक वा त्रैमासिक रुपमा अनुगमन र निरीक्षण गर्नुपर्छ । निरन्तर मूल्याङ्कन पद्धति पनि प्रभावकारी हुन सकेको छैन ।’
अभिभावकमा भएको गरिबी र अशिक्षाका कारण पनि शैक्षिक उन्नयनमा बाधा पुगेको हुनाले अभिभावकलाई पनि अभिमुखीकरण गर्नुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘शिक्षकलाई शिक्षा शाखाले थप जवाफदेही बनाउन सक्नुपर्छ । प्रोत्साहन वा दण्ड व्यवस्थापनको पनि आवश्यकता छ । विद्यार्थी र शिक्षक सधैँ कक्षामा आए भने ५० प्रतिशत समस्या हल हुन्छ ।’

निजी विद्यालयको छाता सङ्गठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कोशी प्रदेश अध्यक्ष टीकाराम ढकाल भन्छन्, ‘हामीलाई नगरले नियमन मात्रै गर्ने हो भने पनि हामी धेरै जिम्मेवार हुने थियौँ । यसमा अभिभावकको पनि केही भूमिका हुन्छ । अभिभावकले पनि विद्यार्थीको पढाइमा ध्यान दिनुपर्छ ।’ उनी भन्छन्, ‘स्थानीय सरकारले त केही पनि गरेको छैन । नियमन गरेको छैन, गोष्ठी पनि गरेको छैन । संस्थागत विद्यालयको लागि मात्रै होइन सामुदायिक विद्यालयको लागि पनि सुन्दरहरैंचाको शिक्षा शाखाले केही गरेको छैन ।

स्थानिय सरकारको प्रभावकारी नियमन र अनुगमन हुन नसक्दा सुन्दरहरैचाको शिक्षा क्षेत्रको अवस्था समेत खस्कदै गएको छ । नगरको शिक्षा क्षेत्र दिनप्रतिदिन खस्कदै गएता पनि यता नगरपालिकाका जनप्रतिनिधिहरु भने शिक्षामा राजनीति गर्न मै व्यस्त छन । कुन विधालयमा को पठाउने भन्ने बिषय नै यती खेर नगरका जनप्रतिनिधिलाई मुख्य चासो को बिषय बन्ने गरेको देखिन्छ । अरु पालिकामा विभिन्न गोष्ठीमार्फत् कार्यक्रम भइरहेका छन् । सुन्दरहरैंचामा त्यस्तो हुन सकेको छैन । संस्थागत विद्यालयको नियमन, व्यवस्थापन गर्न पनि स्थानीय सरकार चुकेको छ ।’