बसको ठक्करबाट साइकलयात्रीको घटना स्थलमै मृत्यु

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं २ स्थित जयचोकमा यात्रुवाहक बसको ठक्करबाट एक साईकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ । आज (मंगलबार) दिउँसो ३ : ५० बजे पश्चिमबाट पुर्व जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५४९ नम्बरको यात्रुवाहक बसले साइकल यात्री पथरी शनिश्चरे २ बस्ने ५० बर्षका यज्ञ थापालाई ठक्कर दिएको थियो । ठक्करबाट साइकलमा सवार थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पथरी बजारदेखि करिब २ किलोमिटर पूर्वमा रहेको उक्त घटना स्थलमा ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोली तत्कालै पुगेको थियो। घटना स्थलबाट प्रहरीले निजको शवलाई मदन भण्डारी ट्रमा सेन्टरमा पोष्ट मार्टमको लागि पठाइएको जानकारी इलाका प्रहरी कार्यालय पथरी सूचना केन्द्रका प्रहरी जवान शम्भु राईले बताउनुभयो ।

साईकल यात्रीलाई ठक्कर दिने बस र झापाको बिर्तामोड नगरपालिका ०२ का ४६ वर्षे बस चालक प्रकाश पाठकललाई ईप्रका पथरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।