कानेपोखरी गाउँपालिकाको केन्द्र भौंसाबारीमा सर्दै

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहितको केन्द्र सार्ने गाउँसभाले निर्णय गरेको छ । गाउँसभाको आज बसेको बैठकमा भएको मतदानमा २७ जनाले सार्ने पक्षमा मतदान गरेभने ६ जनाले यथास्थानमा राख्नुपर्ने पक्षमा मतदान गरेका थिए ।

पालिकाकी अध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँसभामा पालिकाको केन्द्र पालिकाले खरिद गरेको वडा नम्बर ५ भौंसाबारीमा सार्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति हुन नसकेपछि मतदान भएको थियो । मतदानका क्रममा २७ जनाले सार्नुपर्ने पक्षमा मत दिएको गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले जानकारी दिए ।

मोरङको कानेपोखरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८÷०७९ मा पालिकाको केन्द्र स्थापनाको लागि भन्दै भौंसाबारीमा १ विगाहा जग्गा २ करोड ५ लाखमा खरिद गरेको थियो । गाउँपालिकाले २०७८ असार २३ गते मुआब्जा निर्धारण समितिमा पेश गरेको प्रतिवेदनको आधारमा उक्त जग्गा प्रतिकठ्ठा १० लाख २५ हजारमा खरिद गरेको हो । त्यो जग्गामा पालिकाको प्रमुख प्रशासनिक केन्द्र बनाउने कि नबनाउने भन्ने विषयमा विवाद भइरहेको थियो । गाउँसभाबाट सार्ने निर्णय भएसँगै अब यो विवाद समाधान भएको उपाध्यक्ष अधिकारीले जानकारी दिए ।