१६ प्रतिशत मत खसेको थवाङको वडाध्यक्षमा नेकपाको जीत

विराटचोकः आज भएको उपनिर्वाचनको मत परिणाम आउन थालेको छ । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका हुन् । ०७४ सालमा भएको निर्वाचनमा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वार फर्कबहादुर बुढामगरले यो वडामा चुनाव जितेका थिए । उनको निधन भएपछि यहाँ भएको उपनिर्वाचन विप्लव समूहले बहिष्कार गरेको थियो ।

सो समूहले मतदातालाई पनि धम्क्याएका कारण मतदाता मतदानस्थलमा नगएको बताइएको छ । १ हजार २ सय ८४ मतदाता भएको सो वडामा आज भएको उपनिर्वाचनमा जम्मा २ सय ९ मत खसेको थियो । सो मतमध्ये नेकपाका जनकबहादुर बुढामगरले १ सय ७४ मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत पाएका थिए ।