रेडस्टार माविको २ दिवसीय अभिभावक अभिमुखीकरण कार्यक्रम सुरु

पथरी / पथरीशनिश्चरेस्थित रेडस्टार माध्यमिक विद्यालयद्वारा आयोजित २ दिने अभिभावक अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । बिहीबार पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख देविमाया काफ्लेले उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा आफ्ना नानीहरूको शिक्षा दिक्षा सहित उज्वल भविष्यको लागि समयानुकूल माया, प्रेम, स्नेह बाड्दै समुचित अभिभावकत्व प्रदान गर्न समेत अभिभावकहरूलाई उत्प्रेरित गर्दै मनोविमर्श प्रशिक्षक किशोर श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । जेष्ठ अभिभावक बासुदेव गुरागाईंको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिएन तिम्सिनाले अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

उक्त अवसरमा वडा नं १ का वडाध्यक्ष भीम कुमार राईले पथरीशनिश्चरे(नगर क्षेत्रमा अभिभावक ज्युहरूको लागि अति व्यवस्थित रूपमा प्रेरणादायी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको रेडस्टार मावि परिवारप्रति खुशी लागेको बताउनु भयो । वडा सदस्य चन्द्र कुमार राई तथा लर्ड बुद्ध साकोसका व्यवस्थापक गणेश कुमार वाछना राईले समेत आफुलाई यस प्रकारको कार्यक्रम आयोजना गरिएकोमा प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा सहायक प्रधानाध्यापक वसन्त मादेन, आई। एस।ए, अवार्ड संयोजक समेत रहनुभएका राजु तिम्सिना, किरात एकेडेमीका प्रिन्सिपल सुजन बास्तोला, बडा नं ७ का वडा अध्यक्ष उद्धवराज बस्नेत, वडा नं १० का कार्यवाहक वडाध्यक्ष मिना तामाङ , पथरीशनिश्चरे नगरका पूर्व मेयर दिलिप कुमार राई, क्रमशः वडा नं २ का वडा सदस्य तथा अभिभावक चन्द्र कुमार राई तथा अम्बिका लिम्बु, लगायतको उपस्थिति रहेको थियो ।