हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानको विषयमा पत्रकार अन्तरक्रिया कार्यक्रम

पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिकामा हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन अभियान २०७९ को विषयमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरिएको छ । बुधबार नगरको सभाहलमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । प्रमुख तुम्वापोले सञ्चारमाध्यमको तर्फबाट जतिसक्दो आम नगरवासीहरुमा आफ्नो जिम्मेवारी सम्झी प्रचार प्रसार गरी औषधि सेवनमा सहभागिता बढाइदिन सम्पूर्णमा अनुुरोध गर्नुभयो ।

स्वास्थ्य संयोजक मुरारी आचार्यले सञ्चालन गर्नुभएको सो कार्यक्रमको बीच बीचमा अन्तरक्रिया गरिएको थियो । यही फागुन ११ गतेबाट सञ्चालन हुने हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्दै प्रश्नोत्तर एवं सुझाव संकलन पनि गरिएको थियो । स्वास्थ्य संयोजक मुरारी आचार्यले भन्नुभयो–‘यस नगरमा फागुन ११ गतेदेखि औषधि सेवन अभियानलाई नगरपालिकाबाटै सुरुवात गरिनेछ । र, १० वटै वडा कार्यालयबाट यो अभियान सञ्चालन गरिनेछ ।’

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले आफ्नो कार्य क्षेत्रमा मात्र नभएर नजिकका पालिकाहरुलाई पनि यस अभियानमा सक्रियताका साथ अघि बढाउन सबैसँग अनुरोध गर्नुभयो । सो अन्तरक्रियामा स्वास्थ्य सह–संयोजक जगत मगर र डा। भेषराज पोखरेलले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । यस अभियानमा पथरीशनिश्चरे नगरपालिकाले २०७४ सालमा प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।

कार्यक्रममा उप–प्रमुख देवीमाया काफ्ले, शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, वडा नं। ८ का वडाध्यक्ष एवं नगर प्रवक्ता नविन कार्की, समाजसेवी रमेश दाहाल लगायतको उपस्थिति रहेको थियो ।