राप्रपाबाट तीन मन्त्रीको टुंगो लाग्यो, लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ । मंगलबार बिस्तार हुने मन्त्रिपरिषदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने भएका छन् ।

राप्रपाले तीन मन्त्रालय पाएको छ । राप्रपाबाट लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे र ध्रुबहादुर प्रधान मन्त्री बन्न लागेका हुन् । राप्रपाका एक नेताका अनुसार पाण्डे सहरी विकास र प्रधान कानुन मन्त्री बन्ने भएका छन् । राप्रपामा महामन्त्री धवलशमशेर राणा, दीपक बोहोरा र पशुपतिशमशेर राणा मन्त्री बन्न इच्छुक थिए । तर, तीन मन्त्रालय मात्र भागमा परेकाले उनीहरू मन्त्री सकेनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन् । दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने गरी तयारी भइरहेको छ ।