मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादवले दाबी गर्ने

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादवले दाबी गर्ने भएका छन् । बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष यादवले बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि दाबी गर्ने भएका हुन् । आजै यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

सातदलीय गठबन्धनमा मधेस प्रदेशमा पहिलो कार्यकाल जसपा र दोस्रो कार्यकाल जनमत पार्टीबाट मुख्यमन्त्री बन्ने सहमति छ । तर, मधेस प्रदेशमा जसपाको नेतृत्वमा गठन हुने सरकारलाई कांग्रेस, लोसपा र एकीकृत समाजवादीले पनि समर्थन गर्ने सम्भावना रहेको बताइन्छ ।

केही दिनअघि जसपा अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सरकारलाई समर्थन गरिदिन प्रस्ताव गरिसकेका छन् ।