सुनिल शर्माका प्रतिबद्धताः सुकुम्बासी समस्या समाधान, सुलभ स्वास्थ्योपचार र खानेपानीको सहजता

अनु निरौला । जनताको आवाज संसदमा उठाउनका लागि दोस्रो पटक प्रयासरत नेपाली कांग्रेसका उम्मेद्वार डा. सुनिल शर्माले आफ्नो चुनाव प्रतिबद्धतामा मुख्य रुपमा ३ वटा एजेण्डा अघि सारेका छन् ।

जुन समस्या उनको निर्वाचन क्षेत्रको मात्रै नभएर समग्र देशकै मुख्य समस्याका रुपमा रहेका छन् ।

अन्य समस्यालाई सामान्य समस्या मानेका शर्माले अघि सारेका समस्या देशव्यापी समस्याको रुपमा रहेका र तिनै समस्या समाधानको लागि शर्माले प्रतिबद्धता जाहेर गरेकाले उनको पक्षमा माहोल बढ्न थालेको छ ।

मतदातामा देखिएको उत्साह हेर्दा शर्माको पक्षमा भारी मत खस्ने अनुमान गर्न सकिन्छ ।

गठबन्धनका उम्मेद्वारको साथ लिएर डा. शर्मा केही दिनदेखि पथरीकेन्द्रित घरदैलो कार्यक्रममा छन् । आइतबार पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न ९ स्थानमा भएको कोणसभा तथा घरदैलो कार्यक्रममा देखिएको जनलहरले शर्माको जीत निश्चित भएको देखाउँथ्यो ।

बिहान ८ बजेदेखि मतदाता भेटघाटमा व्यस्त रहेका शर्माले बिहान ९ बजेदेखि कोणसभालाई सम्बोधन गर्न थालेका थिए । यो क्रम साँझ साढे ५ बजेसम्म जारी रहेको थियो ।

हरेक स्थानका कोणसभालाई सम्बोधन गर्ने क्रममा डा। शर्माले आफ्ना प्रतिबद्धता दोहो¥याए । उनको प्रतिबद्धतालाई उपस्थित मतदाताले ताली बजाएर समर्थन गरेका थिए ।

‘यस क्षेत्रका नागरिकले उपचार नपाएर आफ्नो जीवन गुमाउनुपर्ने छैन’, डा। शर्माले भने, ‘गत ५ वर्षमा मेरो पहलमा १ लाख ३० हजार बिरामीलाई घरबाटै एम्बुलेन्समा राखेर अस्पताल लगेर निःशुल्क उपचार गरी घरमै ल्याइदियौँ । क्षेत्र नम्बर ३ का ६ वटा संस्थालाई ६ वटा एम्बुलेन्स दियौँ, पथरीशनिश्चरेमा मात्रै २ वटा एम्बुलेन्स प्रदान गरेँ ।’ पैसाको अभावमा उपचार नपाएर मर्ने दिनको अन्त्य भएको भन्दै उनले आफूले हार्दा पनि गरेको यस्तो परोपकारको कामलाई आफू निर्वाचित भएपछि झन् व्यापक बनाउने बताए ।

६ सय ७३ जना विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिएको स्मरण गरे । उनीहरुले ११ कक्षादेखि एमबीबीएससम्म अध्ययन गरेको जानकारी दिँदै डा। शर्मा सम्बोधनको क्रममा आफ्नो परोपकारी कामको बारेमा कतिले थाहा पाउनुभएको छ भनी मतदातालाई सोध्थे ।

सो क्रममा मतदाताले आफूले थाहा पाएको भनी जवाफ दिने गर्थे । आफूले जितेर गएपछि प्रत्येक वडामा एउटा एम्बुलेन्सको व्यवस्था गर्ने पनि उनले उद्घोष गरे । दिउँसो २ बजे पथरीशनिश्चरे–८ सोमबारेमा भएको कोणसभाको समापन पछि सुनिल शर्मा जिन्दावाद भन्दै उपस्थित मतदाताले नारा पनि लगाएका थिए ।

‘तपाईँहरु लालपूर्जाविहीन भएर वर्षौंदेखि बस्नुभएको छ’, पथरीशनिश्चरे–९ पुलचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भने, ‘चुनाव जितेर गएपछि सुकुम्बासी समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’ सुकुम्बासी र अव्यवस्थित बसोबासको ठूलो समस्या रहेको पथरीशनिश्चरेमा रहेका सुकुम्बासीको समस्या समाधानलाई पहिलो प्राथमिकता दिने उनले बताए ।

शर्माले खानेपानीको समस्यालाई पनि प्राथमिकतामा राख्ने जनाए । पथरीशनिश्चरे– ८ को मंगलबारेमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा डा। शर्माले खानेपानी र सिँचाइको उचित प्रबन्ध गरिने बताए । मंगलबारे क्षेत्रमा देखिएको खानेपानीको समस्या हल गर्नुको साथै निर्वाचन क्षेत्रमा सिँचाइको अभाव भएको स्थानमा सिँचाइको उचित प्रबन्ध गरिने पनि उनले बताए ।

सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट शिक्षा दिने कार्यक्रमलाई व्यापक बनाउन पहल गरिने पनि आफ्नो प्राथमिकतामा परेको उनले बताए ।

सरोकारवाला र मतदाताका गुनासा तथा सुझाव सुन्न र अभिलेखीकरण गर्न सचिवालय स्थापना गरी जनताको सेवामा कटिबद्ध रहने शर्माले उद्घोष गरेका थिए ।

डा. शर्मालाई साथ दिन आइतबार गठबन्धनका उम्मेद्वारमध्ये प्रत्यक्षतर्फका प्रदेशका उम्मेद्वार भने थिएनन् । प्रदेश क बाट उम्मेद्वार बनेका नेपाली कांग्रेसका शेखरचन्द्र थापा बिरामी भएकाले उपचारको क्रममा काठमाडौंमा रहेका छन् । प्रदेश ख का उम्मेद्वार लक्ष्मीकुमार श्रेष्ठ आफ्नै क्षेत्रमा मतदाता भेटघाटमा व्यस्त थिए ।

डा. शर्मालाई साथ दिन पहिलो संविधान सभाका सभासद नेकपा माओवादीका लालबहादुर सुस्लिङ मगर, दोस्रो संविधान सभाका सभासद नेकपा एकीकृत समाजवादीका चण्डीप्रसाद राई, प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार नेपाली कांग्रेसका वसन्त भट्टराई र एकीकृत समाजवादीकी समानुपातिक उम्मेद्वार कृष्णकुमारी बिक तथा प्रदेश सभाका समानुपातिक उम्मेद्वार नेकपा माओवादी केन्द्रकी गीता तिम्सिना रहेका थिए । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पनि कोणसभामा उपस्थित भएर सभालाई सम्बोधन गरेकी थिइन् ।

मोरङको क्षेत्र नम्बर ३ मा १२ दलगत र १९ स्वतन्त्र गरी ३१ जना उम्मेद्वार चुनावी मैदानमा रहेका छन् । तीमध्ये नेपाली कांग्रेसका डा. सुनिल शर्मा, नेकपा एमालेका भानुभक्त ढकाल र राप्रपाकी रेखा थापाबीच मुख्य प्रतिष्पर्धा हुने धेरैको अनुमान छ ।