वनमन्त्री एवम् प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन

दिनेश गिरी । बेलबारी । प्रदेश नं. १ का वनमन्त्री एवम् मोरङ क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । निमोनियाबाट पीडित थापाको नोबल अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

नोबेल मेडिकल कलेजका डाइरेक्टर राजेश नेपालले दिएको जानकारी अनुसार उनको आज बिहान १० बजेर ४० मिनेटमा निधन भएको हो । उनको निधन भएसँगै मोरङ क्षेत्र नम्बर ३ (१) प्रदेश सभाको निर्वाचन स्थगित हुने भएको छ । थापा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका थिए ।

असोज २३ गते उम्मेद्वारी दर्ता गराउँदा नै उनी बिरामी थिए । भोलिपल्ट असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना भएका उनलाई त्यहाँ उपचार हुन नसकेपछि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पताल लगिएको थियो । उक्त अस्पतालमा १७ दिन आईसीयू र ५ दिन वार्डमा राखेर उपचार गरिएको थापाका सहयोगी ज्ञानु कट्वालले बताए ।

थापालाई क्याप्सिका निमोनिया भएको थियो । उनलाई दुई दिन अगाडि बेड रेस्टको लागि भन्दै नोबेल अस्पताल ल्याइएको थियो । ५८ वर्षीय थापाका श्रीमती लक्ष्मी कार्की र छोरा सुलभ थापा छन् ।

२०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव भएर काम गरेका थापा हाल प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थिए ।
२०७० सालको संविधानसभा निर्वाचनमा मोरङको सोही क्षेत्रबाट लडेका उनी तत्कालीन एमाले नेता चण्डी राईसँग पराजित भएका थिए । ०७४ सालमा कांग्रेसबाट उनी प्रदेश सभामा समानुपातिक कोटाबाट आएका सांसद बनेका थिए ।