उत्तरकोरियाद्वारा लामो दुरीका २ क्षेप्यास्त्र परीक्षण

उत्तरकोरियाले लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण रणनीतिक आणविक हतियारको सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले गरिएको कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ ।
उत्तरकोरियाली नेता किम जोङले परीक्षणको परिणामप्रति सन्तुष्टि जनाउँदै राष्ट्रिय सेनाको अथक प्रयास र आणविक क्षमता विकास गर्न उनीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।
अमेरिका, दक्षिणकोरिया र जापानले हालै गरेको संयुक्त सैन्य अभ्यासको प्रतिक्रिया स्वरूप प्योङयाङले लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरेहो हो ।
उत्तरकोरियाली नेता किमले विगत केही दिनदेखि देशको रणनीतिक आणविक सञ्चालन एवम् प्रशिक्षणका निम्ति निर्देशन दिएका थिए । देशको अज्ञातस्थलमा ती क्षेप्यास्त्र परीक्षण गरिएका हुन् । यो परीक्षणले कोरियाली प्रायद्वीपमा तनाव बढाएको छ ।