फुटबल खेलका क्रममा भएको हिंसामा परी १७४ को मृत्यु

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १७४ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार इन्डोनेसियाको लिग वानमा शनिबार भएको एक खेलपछि भएको भागदौडमा हिंसामा परी १८० जना घाइते भएका छन् ।

फुटबल खेलका क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा उक्त घटना भएको थियो । फुटबलमा हार्ने पक्षका समर्थकले पिचमा आएर आक्रमण गरेपछि भागदौड मच्चिएको थियो ।
समर्थकलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो ।
खेलमा अरेमा एफसी माथि पर्सिबायाले ३–२ को जित निकालेको थियो ।

खेल सकिएको अन्तिम सिठ्ठी बजेपछि समर्थक मैदानमा प्रवेश गरेको भिडियो सार्वजनिक भएका छन् । ४० हजार दर्शक क्षमता भएको रंगशालामा क्षमताभन्दा बढी मानिस रहेको जनाइएको छ ।

इन्डोनेसिया फुटबल संघले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । लिग एक साताका लागि स्थगित गरिएको छ ।