बजार व्यवस्थापनमा लागे जनप्रतिनिधी, सडकमा व्यवसाय गरे सामान जफत

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं १ का जनप्रतिनिधी बजार व्यवस्थापन गर्न लागेका छन् । सडक अतिक्रमण गरेर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई तुरुन्त हटाउन निर्देशन दिदैँ वडाध्यक्ष भिम राई, नेकपा एमाले पथरीशनिश्चरे १ का अध्यक्ष प्रदिपकुमार राई, पथरी बजार व्यवस्थापन समिति तथा वडासदस्यहरु सहितको टोलीले बजार परिक्रमा गरेका छन् ।

सडकको दुवैतर्फ सडक व्यवसाय सञ्चालन हुँदै गएर दुर्घटनाको जोखिम बढेपछि वडा नं १ का जनप्रतिनिधिहरुले निरन्तर रुपमा व्यवसाय हटाउन अनुरोध गर्दै आएका थिए । तर सडक किनारमा गरिएका ति व्यवसायीहरुले व्यवसाय नहटाएपछि जनप्रतिनिधीहरु एक्सनमा उत्रिएका छन् । टोलीले सडक किनारमा राखिएका निर्माण सामग्री तथा अन्य कुनै पनि प्रकारका सामान तत्काल हटाउन निर्देशन समेत दिएको छ ।आफुहरुले बारम्बार निर्देशन दिँदा पनि बेवास्ता गरिएका कारण बाध्य भएर अब अटेर गर्ने ब्यवसायीको सामान जफत गर्न नगरप्रहरी खटाएको जानकारी समेत गराइएको थियो । आफुहरुलाई जनताले नै सेवा गर्न पठाएको कारण जनताको सेवामा लाग्दा सहयोग गरिदिन समेत वडाध्यक्ष राईले अनुरोध गरेका छन् ।