मर्स्याङ्दीमा खादा प्रयोगमा रोक, फूलको माला प्रयोगमा जोड

लमजुङ / लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । ३ असोजमा बसेको गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

स्थानीय उत्पादित बस्तु तथा सेवाको प्रवर्द्धन, विबिधिकरण तथा बजारिकरण र वातावरणीय प्रभाव न्युनिकरण गर्ने उदेश्यले पालिकाभित्र खादाको प्रयोगमा प्रतिबन्ध लगाईएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताए । तर, अति आवस्यक धार्मिक कार्यक्रममा भने प्रयोगमा छुट दिईने उनले बताए ।

पालिकाले स्थानीयस्तरमा उत्पादित फूलको प्रयोग गरि यसको बिक्रीवितरण तथा बजारीकरण गरी आयआर्जन बृद्वी र स्थानीय उत्पादनमा प्रोत्साहन गर्ने निर्णयसमेत गरेको छ । पालिका अध्यक्ष गुरूङले असोज ९ गते सार्वजनिक सुचना जारी गर्दै निर्णय कार्यन्वयन गर्न सरोकारवाला सबैमा अपिल गरेका छन् ।

गाउँपालिकाको यस्तो निर्णयले फूल ब्यवसायमा लागेका कृषकहरू खुसी भएका छन् । पालिकाको वडा नम्बर ९ स्थित भालमचौर मृचे नमुना कृषि फार्ममा १० रोपनी र मर्स्याङ्दी कृषि फार्ममा ३ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेति गरिएको छ । सो फार्मका प्रवर्द्धक नवीनराज कुईकेलले बाह्रै महिना उत्पादन हुनेगरि फूल खेति गरिएको बताए ।

गत वर्षबाट सुरू गरिएको फूल खेतिले राम्रो बजार लिएको र माग पनि बढेको सो फार्मले बताएको छ । फार्मबाट यसवर्ष फूल तथा माला विक्री सुरू भैसकेको छ ।

स्थानीय फूल र माला प्रयोग गरि खादाको आयात रोक्न सकेमा स्थानीय पुँजीको संचिति हुनुको साथै आयआर्जनमा टेवा पुग्ने विस्वास लिएको गाउँपालिका अध्यक्ष गुरूङले वताए ।