कर्मचारी र उपमेयरद्धारा नगरपालिकाको गाडिको दुरुपयोग, विना काम दिनैपिच्छे विराटनगर आवतजावत

मोरङ / मोरङको उर्लाबारी नगरपालिकाको गाडीको दुरुपयोग हुने गरेको पाइएको छ । कार्यालय समय सकिए पछि पनि गाडि विराटनगर हुँईकिने गरेको पाइएको हो ।

उर्लाबारी नगरपालिकामा रहेका ३ वटा गाडी मध्ये कर्मचारीले प्रयोग गर्दै आएको कालो रगको को १ झ ५७० नम्वरको गाडी दैनिक कार्यलय समय पश्चात विराटनगर जाने र राति गाडी मात्रै फर्कने गरेको छ । यो क्रम निरन्तर केही दिन यतादेखी चलिरहको नगरपालिका स्रोतले बताएको छ ।

नगरपालिकाले इन्धनको प्रयोग घटाउने भनेको भएतापनि नगरपालिकाका कर्मचारीले विभिन्न वहानामा गाडिको दैनिक प्रयोगलाई कार्यालय समय भन्दा बाहीर निजी र घरयासी काममा प्रयोग गर्दै आएको पाइएको छ ।

विराटनगरमा घर भएका नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मुरारीप्रसाद घिघिरे र पालिकाको जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सीनाले बढी मात्रामा नगरको गाडी व्याक्तिगत र घरयासी काममा प्रयोगमा ल्याउने गरेको स्रोतले बताएको छ । भने पालिका उपप्रमुख मिना पौडेलले पनि नगरपालिकाको को १ झ ५०० नम्वरको गाडी लिएर आफन्त भेटघाट पार्टीको कार्यक्रममा जाने गरेको स्रोतले जानकारी दियो ।

सोमबार करिव ५ बजेको समयमा निमित्त प्रमुख र जिन्सी शाखा प्रमुखलाई बोकेर विराटनगर हुईकिएको गाडी मोरङको कानेपोखरीमा भेटिएको थियो । भने सो गाडी राति नै उर्लाबारी फर्किएर विहान उनिहरुलाई लिन विराटनगर जाने गर्दछ ।

दैनिक जसो गाडीको अनाधिकृत प्रयोग गर्दै आएका नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत घिमिरेलाई हामिले गाडी के का लागि दैनिक विराटनगर जाने गरेको हो सर भनेर बुझ्दा घिमिरेले भने–‘काम पर्दा जान्छ नि’ भन्ने उत्तर दिदै छेउमा रहेका अर्का कर्मचारीलाई भन्दै थिए “देख्नु भो‘त अव” भन्दै थपकुराकानी गर्न चाहेन्न् ।

घिमिरेकै भाषामा भन्ने हो भने काम पर्दा जाने सो गाडी के कामका लागि दैनिक विराटनगर जाने आउने गर्दछ भन्ने कुरा खुल्न सकेन । स्रोतका अनुसार हाल नगरपालिकाका मेयर गंगाप्रसाद खरेल र प्रमुख प्रशाशकिय अधिकृत अग्नि प्रसाद अधिकारी काठमान्डौ गएको मौका छोपेर विराटनगर घर भएका घिमिरे पारीवारीक कामका लागि गएको सुचना प्राप्त भएको हो ।