नोबेलले एकैदिन मोरङका तीन स्थानमा गर्यो निःशुल्क स्वास्थ्य शिविर

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सोमबार मोरङको क्षेत्र नं. ३ का छुट्टा छुट्टै तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् ।

नोबेल अस्पतालमार्फत डा.शर्माले बेलवारीका दुई र पथरीशनिश्चरेको एक स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी गरिब तथा विपन्न विरामीलाई गाउँमै निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका हुन् ।

पथरीशनिश्चरे–१ मा छाती तथा फोक्सो रोग र स्त्री रोग सम्बन्धि शिविर सञ्चालन गरिएको छ । शिविरमा नोबेलका छाती तथा फोक्सो रोग विशेषज्ञ प्रा. डा. रामहरी घिमिरे र स्त्रीरोग बिशेषज्ञ प्रा. डा. शान्ति सुवेदी नेतृत्वको डाक्टरहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको छ ।

शिविरमा १५१ जनाको इसीजी, १५२ जनाको रक्त परीक्षण र १९३ जनाको भिडियो एक्सरेसहित ५७४ जनाको स्वास्थ्य परीक्षण गरिएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै, मुटुरोगीलाई लक्षित गर्दै बेलवारी–४ बुधबारेमा शिविर सञ्चालन गरिएको छ ।
विरामीको स्वास्थ्य परीक्षणका लागि नोबेलका मुटुरोग बिशेषज्ञ डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरुको टोली शिविरमा गएको थियो । त्यहाँ १२१ जनाको मुटुको जाँच इको गरिएको छ ।
यता, बेलवारी–९ डाँगीहाटमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर ३७५ जनाको स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालले जनाएको छ ।
पथरीशनिश्चरेको शिविरबाट ४४ जना र बेलवारी–४ को शिविरबाट ५५ जना विरामीलाई थप उपचारका लागि नोबेल अस्पताल रेफर गरिएको छ ।

उनीहरुलाई नोबेल अस्पताल ल्याउँने र उपचार पश्चात घर पुर्याउँने व्यवस्था पनि डा.शर्माले नै मिलाइदिएका छन् । बेलवारी घर भएका डा.शर्माले आफ्नो चुनावी क्षेत्रसमेत रहेको क्षेत्र नं. ३ मा बर्षौ अघिदेखि नोबेल मार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् ।

समाजसेवाका माध्यमबाट लोकप्रियता कमाएका डा.शर्मालाई अहिले नेपाली कांग्रेसले सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार बनाउँन सर्वसम्मत सिफारिस गरेको छ । डा.शर्मा गत प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेद्वार थिए, तर पराजित भए । चुनाव हारेर पनि डा.शर्मा सो क्षेत्रका जनताको सेवामा नियमित लागिरहेका छन् ।