ओलीका विपक्षीको नाम छानीछानी काटियो

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै जाँदा एमालेभित्र ‘ओली भरोसे’ स्थिति बनेको छ । अघिल्ला निर्वाचनहरूमा बिनाअवरोध वा बिनाविवाद टिकट पाउँदै आएका थुप्रै नेता यसपटक कोही सिफारिस चरणमै बाहिरिएका छन् भने, सिफारिसमा पर्नेहरूको पनि टिकटको टुंगो छैन । एमाले नेताहरू ‘भगवान भरोसे’ भनेजस्तो अध्यक्ष केपी ओलीको भर पर्नुपर्नेबाहेक अरू कुनै उपाय नभएको भन्न थालेका छन् ।

निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको उम्मेदवारहरूको बन्दसूची पेश गर्ने समय तोकेको छ । त्यसका लागि पार्टीको कुनै पनि कमिटी र निकायको बैठक नबोलाई ओली निवास बालकोटमा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले ओलीले भनेका नामहरू टिपोट गरेका छन् । त्यसमा को–को परेका छन् भन्ने कुरा पार्टीभित्रै गोप्य राखिएको छ ।

ओलीले आगामी संसदमा लैजान नचाहेका कतिपय व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बाध्यता भएपछि समानुपातिकबाट छनोटमा पर्न मुस्किल हुने क्रम संख्याभित्र हालेका छन् ।
उम्मेदवार सिफारिसका क्रममा सबभन्दा पीडित हुनेमा १० बुँदे पक्षधर नेताहरू रहेका छन् । अछामबाट भीम रावल र पाल्पाबाट ठाकुर गैरे मात्र सर्वसम्मत सिफारिस भएका छन् । तर, उनीहरूलाई हराउनका लागि ओलीकै मान्छेहरू सिफारिस भएकै मितिदेखि सक्रिय छन् ।

भीम रावलविरुद्ध झपड बोहोरा र ठाकुर गैरेविरुद्ध दलबहादुर रानाहरूको सक्रियता देखिन्छ । १० बुँदे पक्षधर नेताहरूले आगामी संसदमा प्रवेश पाउँदा पाइला पाइलामा समस्या खडा गर्ने खतराका कारण टिकट नदिई नहुने स्थितिका नेताहरूलाई पनि हराउने तयारी गरिँदैछ ।
जसरी २०७४ को निर्वाचनमा एमालेका तत्कालिन उपाध्यक्ष वामदेव गौतमको घरमा बसेर वाम गबठन्धनका सम्पूर्ण टिकटहरुको टुंगो लगाइयो र अन्तिममा उनै वामदेवलाई निर्वाचन हराउने गरी बालकोटबाट खेल खेलियो, यसपटक १० भाइका हकमा त्यसै गरिँदैछ ।

सचिव योगेश भट्टराईलाई ताप्लेजुङबाट उम्मेदवार सिफारिस गरिँदा उनीसँग पाँच जनाको लाइन लगाइएको छ । कुनै पनि हालतमा पछाडि नहट्ने उद्घोषका साथ ताप्लेजुङमा निर्वाचनको तयारीमा जुटेका पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो यसचोटि योगेशको उम्मेदवारीका सबभन्दा ठूलो चुनौति बनेर खडा भएका छन् ।

योगेशले टिकट पाए पनि उनलाई तिलकुमारहरुले हराउने गरी भूमिका खेल्ने भएका छन् । यसबाहेक पासाङ शेर्पा, टंक आङ्बुहाङ र रामप्रसाद सुवेदी पनि सिफारिसमा परेका छन् । ताप्लेजुङमा समस्या भएमा योगेशलाई झापाको क्षेत्र नं. १ बाट निर्वाचन उठाउने सम्भावना छ । तर, झापाको १ नं. क्षेत्रबाट रविन कोइरालाको नाम सर्वसम्मत भइसकेको छ ।

एमालेका पुराना नेता युवराज ज्ञवाली पनि प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार सिफारिस परेका छन् । तर, उनको नाम गायिका कोमल वलीको भन्दा पनि तलतिर छ । दाङको क्षेत्र नंं. ३ बाट एक नम्बरमा गायिका वली, दुईमा तुलसीपुरका पूर्वमेयर घनश्याम पाण्डे र तीन नम्बरमा युवराज ज्ञवालीको सिफारिस छ ।

१० भाइभित्रैका सांसद दिपकप्रकाश भट्ट कञ्चनपुर ३ बाट सिफारिस मा परेका छन् । तर, निरुदेवी पाल र लीलाध्वज बस्नेतभन्दा मुनि नाम राखिएको छ । त्यहाँबाट निरुलाई प्रत्यक्षमा टिकट दिने बालकोटको तयारी छ ।

रुपन्देहीका अरु निर्वाचन क्षेत्रमा ओलीपक्षीय सबै नेता सर्वसम्मत सिफारिसमा परेका छन् । तर, क्षेत्र नं. ३ मा घनश्याम भुसाललाई उनकै निकटका नेतालाई तेस्र्याएर तरबार ताकिएको छ । तिलोत्तमा नगरपालिकाका पूर्वमेयर बासुदेव घिमिरे र घनश्यामको नाम सँगै सिफारिस गरिएको छ । उनीहरू बाहेक यज्ञजित शाह र दुर्गा भुसालको नाम पनि त्यहाँबाट पठाइएको छ ।

वैशाखमा सम्पन्न भएको स्थानीय निर्वाचनमा पार्टी उपाध्यक्ष विष्णु पौडेलनिकटका मोहन चापागाइँलाई तिलोत्तमाको मेयरमा उठाउनुपर्ने भएपछि बासुदेवलाई प्रतिनिधिसभाका लागि टिकट दिने बचन दिइएको थियो । त्यसैले अन्तिममा त्यहाँ बासुदेव नै उम्मेदवार बन्ने सम्भावना छ । त्यसमाथि राप्रपा नेता दिपक बोहोराको क्षेत्र पनि त्यही भएका कारण राप्रपासँग तालमेल हुँदा उक्त क्षेत्र राप्रपाको भागमा पर्ने सम्भावना छ ।

गुल्मीको क्षेत्र नं. १ बाट प्रदीप ज्ञवाली सर्वसम्मत सिफारिस हुँदा २ मा गोकर्ण विष्टलाई सर्वसम्मत बनाइएन । त्यहाँबाट पत्रकार राजेन्द्र अर्याल र पूर्वविद्यार्थी नेता शेषकान्त गौतमको नाम पनि पठाइएको छ ।

पाँच दलीय सत्ता गबठन्धनले गुल्मीको क्षेत्र नं. २ एकीकृत समाजवादीलाई दिने र त्यहाँबाट रामकुमारी झाँक्री उम्मेदवार हुने कुरा एमालेका निम्ति ठूलो चुनौतिको विषय बनेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको बलियो मताधार भएको उक्त क्षेत्रमा ती दुबै पार्टीले रामकुमारीका लागि छाडिदिँदा एमाले अप्ठेरोमा पर्ने अवस्था हुन्छ ।

१० भाइभित्रका अर्का नेता सुरेन्द्र पाण्डेको नाम चितवन क्षेत्र नं. १ बाट सिफारिसमा आएको छ । तर, त्यहीँबाट अर्का नेता जगन्नाथ थपलियाको बलियो दावेदारी प्रस्तुत भएको छ । पटक–पटक सुरेन्द्र पाण्डेलाई निर्वाचन जिताउनुपर्ने, तर उनी जहिल्यै ओलीविरोधी कित्तामा उभिने भन्दै चितवनका ओलीपक्षधर नेताहरु जगन्नाथको पक्षमा छन् ।

१० भाइमध्येका एमाले स्थायी कमिटी सदस्य भीम आचार्य कतैबाट पनि सिफारिसमा परेनन् । उनको निर्वाचन क्षेत्र सुनसरी १ हो । त्यहाँबाट वहालवाला सांसद जयकुमार राईको नाम सर्वसम्मत भएको छ ।

अघिल्लो निर्वाचनमा मुख्यमन्त्री बन्नका लागि सुनसरी १ (ख) बाट प्रदेशसभा सदस्यमा भीमले जितेका थिए । तर, यसपालि उनको नाम प्रदेशमा पनि आएन । प्रदेशसभा (क) मा अहिलेका प्रदेश सभामुख प्रदीप भण्डारीसहित रमेश बस्नेत, नारायण सुवेदी, डम्बर गुरुङ, बेणु काफ्ले, राम आङ्बुहाङ र मोतिराज सुनुवारको नाम सिफारिस भएको छ ।

प्रदेससभा (ख) बाट विजय राई, प्रकाश राई, नन्दकुमार बस्नेत, गोविन्द कार्की, योग्यराज खड्का, भेषराज कार्की र मीना सुब्बाको नाम सिफारिस हुँदा भीम आचार्य कतै भेटिएनन् । त्यसबाहेक प्रतिनिधिसभाका लागि सुनसरीको क्षेत्र नं. २ बाट रेवती भण्डारी, ३ बाट भगवती चौधरी र ४ बाट जगदिश कुसियतको नाम सर्वसम्मत भएर आइसकेको छ ।

सिफारिसमै छुटाइएका अर्का नेता हुन्, सिन्धुलीका गणेश पहाडी । क्षेत्र नं. १ बाट ४ जनाको नाम सिफारिस हुँदा उनी न प्रतिनिधिसभा, न प्रदेशसभा, कतै पनि परेनन् । प्रतिनिधिसभातर्फ प्रदेश मन्त्री प्रदीप कटुवाल, पत्रकार सुवास देवकोटा, कर्मचारी नेता केदारप्रसाद देवकोटा र गंगा कार्कीको नाम सिफारिस भएको छ । सिन्धुलीको क्षेत्र नं. २ बाट मनोजजंग थापा र कौशल कोइरालाको नाम सिफारिस भएको छ ।

त्यही समूहका नेता बैजनाथ चौधरी पनि सिफारिसमा परेनन् । पूर्वी नवलपरासी जिल्ला कमिटीले केन्द्रमा पठाएको नाममा जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य दिपेन्द्रकुमार अधिकारी र पुर्वराष्ट्रियसभा सदस्य रामलखन हरिजनको नाम छ ।

काठमाडौंमा पनि ओलीविरोधीहरु छानीछानी बढारिँदै छन् । स्थानीय निर्वाचनमा ओली कार्यशैलीमाथि टिप्पणी गर्दै एमालेको कमजोर अवस्थाबारे चित्रण गर्ने रामवीर मानन्धर सिफारिसबाटै बाहिरिएका छन् । रामवीरले निर्वाचन जित्दै आएको क्षेत्र नं. ७ मा यसचोटि काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यको नाम एक नम्बरमा सिफारिस भएको छ । त्यसपछि स्थायी कमिटी सदस्य रघुजी पन्तहँुदै इन्दिरा पन्त, वीपी ढकाल, श्याम घिमिरेसम्मको नाम छ, रामवीरको छैन ।

काठमाडौंको क्षेत्र नं. ८ बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई सिफारिसबाटै हटाएर केपी ओलीका पिए राजेश शाक्यको नाम ‘सर्वसम्मत’ पठाइएको छ । क्षेत्र नं. ९ बाट कृष्णगोपाल श्रेष्ठको नाम परेको छ, १० बाट उनका सालो विनोद श्रेष्ठ एक नम्बरमा सिफारिस भएका छन् । क्षेत्र नं. १० बाट सिफारिस हुनेमा पहिलो विनोद, दोस्रो शरब महर्जन, तेस्रो रमेश महर्जन, चौथो सुरेन्द्र मानन्धर र पाँचौँमा शम्भुराम महर्जनको नाम छ ।

जबकी, ०७० निर्वाचनमा प्रचण्डलाई हराउने सुरेन्द्र मानन्धर त्यहाँका बलिया दावेदार हुन् । तर, उनी १० भाइपक्षीय हुनाले सिफारिसमै चार नम्बरमा राखिएको छ ।
drishtinews.comबाट