भ्रष्ट्राचार विरुद्ध निशाना प्रदर्शन

धनगढी / भ्रष्टाचारविरुद्ध कैलालीको धनगढीमा कार्टुनिष्टहरुले निशाना प्रदर्शन गरेका छन् । कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा शुक्रबारदेखि दुई दिने प्रदर्शनी सुरु भएको हो ।

नेपालका चर्चित ३६ जना कार्टुनिष्टहरुले भ्रष्टाचारविरुद्धको सन्देश दिने ५० वटा कार्टुन प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला पडाल जोशीले उद्घाटन गरेकी हुन् ।

उपसभामुख जोशीले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि कार्टुनले सतर्कता बनाएको बताइन् । कार्टुनमा नेपाली समाजमा देखिएको समस्याहरूलाई व्यङ्ग्यात्मक रूपमा सतर्क रहन बनाएको उनले बताए । उनले कार्टुनबाट प्रस्तुत विषयले दीर्घकालिन रूपमै प्रभाव पार्ने बताइन । कार्टुन, चलचित्र, नाटक लगायतका कलाले समाजलाई सही बाटोमा दोहो¥याउन मद्दत पुगाउने गरेको उनले बताइन् ।

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष एवं नेपालका चर्चित काटुनिष्ट वासु क्षितिजले संघीयतामा मुलुक गएपछि विकाससँगै भ्रष्टाचार पनि तल्लो तहसम्म पुगेको बताउँदै जनप्रतिनिधि र नागरिकहरूलाई सतर्क बनाउन धनगढीमा निशाना सुरु गरिएको बताए । विकृति–विसंगतीविरुद्ध रङ, रेखा र शब्दमार्फत उनीहरूले भ्रष्टाचारविरुद्ध लाग्न समुदायलाई नै आह्वान गरेका छन् ।

प्रदर्शनीमा सहभागीहरूले निशानाले समाजको यर्थाथलाई उत्कृष्ट रूपमा प्रहार गरेको बताएका छन् । उद्घाटन समारोहमा कार्टुनिष्टका सल्लाहकार अविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी, वरिष्ठ पत्रकार चित्रांग थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षिराम आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।