खोटाङ / कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा डिभिजन वन कार्यालय खोटाङका प्रमुख जगदीश रेग्मी चयन भएका छन् । कर्मचारी मिलन केन्द्रको शुक्रबार सम्पन्न साधारणसभाले रेग्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । ११ सदस्यीय केन्द्रको उपाध्यक्षमा जिल्ला मालपोत कार्यालयका प्रमुख धर्मराज आचार्य, सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उपेन्द्र राई र कोषाध्यक्षमा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दिक्तेलका प्रमुख काजी बस्नेत चयन भएका छन् ।
सदस्यमा जिल्ला आयुर्वेद कार्यालयका प्रमुख उमेशकुमार मेहता, नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मी, स्वास्थ्य कार्यालय खोटाङका प्रशासकीय अधिकृत रबिन फुयाँल, नापी कार्यालयका प्रमुख मदन खत्री र पदेन सदस्यमा आधिकारिक ट्रेड युनियन खोटाङका अध्यक्ष ध्रुवकुमार कार्की चयन भएका छन् । दुई सदस्य पछि थप गरिने कर्मचारी मिलन केन्द्रले जनाएको छ । संस्थाको मर्यादा र छविलाई उच्च बनाउँदै व्यावसायिक, निष्ठावान् र कर्तव्यपरायण बनाउँदै सिर्जनात्मक कार्यमा लाग्न प्रेरित गर्ने कर्मचारी मिलन केन्द्रका नवनिर्वाचित अध्यक्ष रेग्मीले बताए ।