लमजुङबाट देव गुरुङ प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस

लमजुङ / नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधि सभा निर्वाचनमा सदस्यको उम्मेदवारका लागि प्रत्यक्षतर्फ सिफारिस भएका हुन् ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङको आइतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो । उनीसँगै प्रत्यक्षतर्फ केन्द्रीय सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिस भएको छ । समानुपातिकमा मधु अधिकारी गुरुङ, उर्मिला माझी र ऋषिराम पौडेलको नाम सिफारिस भएको छ ।

प्रदेश क को प्रत्यक्षतर्फ मधु अधिकारी गुरुङ, हरिजङ तामाङ, मेखबहादुर भण्डारी, र होमबहादुर विकको नाम सिफारिस भएको छ । प्रदेश ख मा विमल अधिकारी र रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ ।

प्रदेश सभामा समानुपातिकमा जनजाति महिलामा सतीमाया तामाङ, दलित पुरुषमा सुनिल सुनार, देवबहादुर गहतराज, खसआर्य महिलामा शोभा थापा, खसआर्य पुरुषमा नीराजन कुँवर र दयासागर घिमिरे, अल्पसंख्यकमा नन्दबहादुर कुमाल, दलित महिला जुना विक, आदिवासी जनजाति पुरुषमा टकराज गुरुङ र अजय तामाङ र मुस्लिमतर्फ मोहमद जलालदिन मियाको नाम सिफारिस भएको छ ।