जसपा खोटाङः पार्टी ‘छाड्ने र नछाड्ने’ संख्यको विषयमा दोहोरी

खोटाङ / जनता समाजवादी पार्टी खोटाङले अध्यक्ष सहित तीन जनाले मात्र पार्टी परित्याग गरेको दाबी गरेको छ । अध्यक्ष अध्यक्ष टंक थापा सहित ३९ जनाले सोमबार पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागको घोषणा गरेको भोलिपल्टै पत्रकार सम्मेलन गर्दै जसपाले अध्यक्ष थापा, सचिव देवकुमार राई र सचिवालय सदस्य दीपककुमार तामाङले मात्र पार्टी परित्याग गरेको दाबी गरेको हो ।

हेलिप्याडस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जसपाका उपाध्यक्ष पिके खम्बुले पार्टी परित्याग गरेको भनिएका नेता तथा कार्यकर्ता जसपामै रहेको दाबी गरेका छन् । ‘टंकबहादुर थापा, देवकुमार राई र दीपककुमार तामाङले मात्र पार्टी परित्याग गरेको हो,’ खम्बुले भने, ‘जसपा जिल्लामा सशक्त र संगठित छ । भविष्यमा अझ बढी सुदृढ भएर जानेछ ।’

पार्टी परित्यागको सूचीमा राखिएका कतिपय नेताले लिस्टमा सार्वजनिक रूपमै जसपामा रहेको बताइरहेको उपाध्यक्ष खम्बुले उल्लेख गरेका छन् । पार्टी छाडेका भनिएका लफ्याङ र खार्मी वडा कमिटीका नेता तथा कार्यकर्तालाई पत्रकार सम्मेलनमा उपस्थित गराइएको थियो । भौगोलिक विकटताका कारण अन्य ठाउँका नेतालाई उपस्थित गराउन नसकिएको जसपाले जनाएको छ । पार्टी परित्याग गरेका कसैलाई पनि कारबाही नगरिएको तर सो बारेमा प्रदेश कमिटीलाई जानकारी दिइएको जसपाका प्रदेश कमिटी सदस्य नवीन राईले बताए ।

थापाले ११ पदाधिकारीमध्ये ७ जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, ७ केन्द्रीय सदस्यमध्ये २ जना र ६ जना प्रदेश सदस्यमध्ये ३ जनाले पार्टी परित्याग गरेको जानकारी दिएका थिए । थापाको सोही घोषणालाई जसपाले पत्रकार सम्मेलनमार्फत खण्डन गरेको हो । पार्टी ‘छाड्ने र नछाड्ने’ नेताको संख्याको विषयमा अहिले दुई पक्षबीच दोहोरी चल्न थालेको हो । दुवै पक्ष आ–आफ्नो संख्या बढी देखाउने ध्याउन्नमा जुटेको देखिएको छ ।

सोमबारको पत्रकार सम्मेलनमा भनिएजस्तो सबै ३९ जनाले जसपा नछाडेको र मंगलबारको पत्रकार सम्मेलनमा भनिएजस्तो तीन जनाले मात्र पार्टी छाडेको दाबीमा तथ्यांकीय त्रुटि देखिएको छ । नयाँशक्ति पुष्ठभूमीका नेताहरूका विषयमा भने जसपा सहिष्णु देखिएका छन् ।