सेवा कार्यालय थप्दै मेची सहकारी

बेलबारी ।
मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले थप नयाँ स्थानहरुमा सेवा कार्यलय स्थापना गर्ने भएको छ । १२ वटा स्थानमा सेवा कार्यलय स्थापना गरि सन्चानलन भइरहेको सहकारीले सुनसरीको इटहरी, इलाम लगायतका ठाउँहरुमा पनि सेवा कार्यलय स्थापना गर्न लागेको हो ।

२६औँ बार्षिक उत्सव तथा २८औँ साधारणसभाको अवसरमा सहकारीले शनिबार पत्रकार सम्मेलन गरि वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । सहकारीको केन्द्रिय कार्यलय दमकको सभाहलमा सञ्चार उपसमितिले आयोजना गरेको अन्तरक्रियामा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाले अहिले प्रदेश १ का विभिन्न जिल्लामा रहेका १२ वटा सेवा केन्द्र मार्फत आफ्ना सदस्यहरुसँगको कारोबारलाई निरन्तरता दिइरहेको र छिट्टै पूर्वको प्रमुख शहरका रुपमा रहेको इटहरीमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

दमकमा केन्द्रिय कार्यलय रहेको सहकारीको कमल, उर्लाबारी, मधुमल्ला, पथरी, चुलाचुली, बिर्तामोढ, गौरादह, शिवसताक्षी, सुरुङ्गा, लेटाङ र बेलबारीमा सेवा कार्यलयहरु रहेका छन ।
संस्थाले आर्थिक कारोबार र सेवा क्षेत्रलाई थप फराकिलो बनाउँदै लगेको जनाएको छ । कोरोना महामारीका कारण बजारमा उत्पन्न असहज परिस्थिति, मुलुकमा रहेको आर्थिक तरलताका कारण व्यवसायिक कारोबारमा आएको कमीका बाबजुद संस्थाले गत आर्थिक बर्ष २०७८÷०७९ मा लिइएका सबै लक्ष्य भेटाउन सफल भएको हो ।
संस्थामा गत असार मसान्तसम्ममा कायम भएका १३ हजार ३ सय १८ सदस्यहरुको शेयर पुँजी ३५ करोड ५५ लाख ७८ हजार ८०० रुपैयाँ पुगेको छ भने संस्थाको जगेडा कोषमा समेत १ करोड ४७ लाख ५९ हजार ९०० रुपैयाँ र अन्य कोषहरुमा ११ करोड ६३ लाख ७३ हजार रुपैयाँ जम्मा भएको छ ।
पत्रकारहरुसँगको अन्तरक्रियामा गत आर्थिक वर्षमा कुल ११ करोड ९८ लाख २९ हजार रुपैयाँ नाफा कमाउन सफल भएको जनाइएको छ । अन्तरक्रियामा संस्थाले गत आर्थिक वर्षमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको जनाउँदै चालू बर्ष २०७९÷ ८० लाई बचत वर्षका रुपमा मनाउने योजना सार्वजनिक गरिएको छ ।

संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्थाको आगामी वार्षिक साधारण सभामा पेश गरिने प्रतिवेदनको सारसहित संस्थाले लिएको नीति कार्यान्वयनको पक्षका बारेमा प्रष्टयाएका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा दमक नगरपालिकाका पूर्व मेयर रोमनाथ ओली, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापासहित संस्थाका सञ्चालक समिति, उपसमितिका संयोजक तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।