नेपालमा १ सय २० बाघ थपिए

नेपालमा बाघको सङ्ख्या बढेको छ । सन् २०१८ मा २ सय ३५ वटा बाघ रहेकोमा त्यसयता बढेर ३ सय ५५ पुगेको छ । पछिल्लो ४ वर्षमा १ सय २० वटा बाघ थपिएका छन् ।
अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणको तथ्याङ्क सार्वजनिक गर्दै बाघको सङ्ख्या ३ सय ५५ पुगेको जानकारी दिनुभएको हो ।
पछिल्लो पटक नेपालमा गएको मंसिरदेखि फागुनसम्म बाघ गणना भएको थियो । सन् २००९ मा भएको गणना अनुसार नेपालमा बाघको सङ्ख्या १ सय २१ थियो ।
सन् २०१० मा रूसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ भित्र नेपालमा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । तर यसअवधिमा बाघको सङ्ख्या दोब्बरभन्दा पनि धेरैले बढेको छ ।