डेढ किलोभन्दा धेरै सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलोभन्दा धेरै सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
फ्लाई दुबईको उडानबाट काठमाण्डौ आएका भारतीय नागरिक युसुफ हरुनको गतिविधि शङ्कास्पद देखिएको भन्दै प्रहरीले जाँच गरेको थियो । जाँचका क्रममा उनले लगाएको भित्री वस्त्रमा दुई वटा पोकामा रहेको १६ सय १० ग्राम सुन भेटिएको प्रहरीले जनाएको छ । उनले अवैध रूपमा लुकाएर र भन्सार छली गरेर सुन ल्याएकोले पक्राउ गरिएको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र घर्तीले जानकारी दिनुभयो ।
पक्राउ परेका हरुनलाई थप अनुसन्धानका लागि सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।