डोजरले खनेको हेर्दै दिन बित्छ उर्लाबारीका मेयर खरेलको

उर्लाबारी / मोरङको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको यतिबेला डोजरले खनेको हेर्दै बसेको तस्वीर भाइरल भएको छ ।

उनको यो तस्वीर मात्रै हैन उनले उर्लाबारीको मध्यचौकमा तगारी बोकेर हिडेको अर्को तस्वीर पनि भाइरल नै भएको छ । दुवै तस्वीरको तात्पर्य उर्लाबारी सडक खण्डमा परेका खाल्डाखुल्डीपुर्न मेयर खरेलले देखाएको सक्रियता भनेर उनका हनुमानहरुले प्रचार गरेतापनि सडकका खाल्डापुर्ने काम भने जस्ताको त्यस्तै नै छ ।

खरेल यतिबेला सामाजिक संजाल फेसबुकमा विहान, दिउँसो र साँझ पख छाउने गरेका छन् । उनि फेसबुकमा छाउने एउटै मात्र म्याटर भनेको पुर्वपश्चिम राजमार्गमा परेका खाल्डा पुर्न मेयरको पहल, सक्रियता लगायतका बेतुकका निम्छरा पोष्टहरु । उर्लाबारी नगरपालिकाको पुर्वपश्चिम राजमार्ग अन्र्तगत पश्चिमको सुनझोडा खोला देखी पुर्वको मावा खोला क्षेत्र सम्मको ६ किलोमिटर सडक क्षेत्रमा भैसी आहल बस्ने खाल्डाहरु त्यतिकै छन् ।

तर फेसवुकमा हेर्ने हो भने मेयर खरेलले रोडका सवै खाल्डापुरीसके अव केही गर्न बाकी नै छैन् भने, झै गरेर उनका हनुमानहरुले प्रचारबाजी गरिरहेका छन् । तर यर्थाथ भने फरक छ राजमार्ग भएर दैनिक कामकाजमा निस्कने स्थानिय र यात्रुहरु सडकमा परेका खाल्डाखुल्डीका कारण कहाँ कति बेला दुर्घटनमा परिने हो भनेर त्रासमा यात्रा गर्न बाध्य छन् ।

यता उर्लाबारी मेयर गंगाप्रसाद खरेल कहिले राजमार्गमा तगारी लिएर रोडका खाल्डा पुर्न निस्कीन्छन् भने कहिले डोजरले रोडका खाल्डामा गिट्टी हालेको हेरेर बस्छन् । अनि उनका अनुयायीहरु लेख्छन् “मेयर खरेल निरिक्षण” गर्दै । तर मेयर खरेललाई यति सम्म पनि थाहा रहेनछ की, डोजरले खनेको हेरेर निरिक्षण हुन्न भनेर ।

उनको काम भनेको डोजरले खनेको हेर्ने भन्दा पनि सम्वधित निकायमा पहल गरेर हालको समस्यालाई न्युनिकरण गर्ने हो तर । मेयर खरेलले कहि कतै नगरपालिकाको तर्फबाट पहल गरेको भने पाइदैन् । बरु उल्टै हनुमानहरुको फेसबुके प्रचारमा रमाउदै जनताले प्रत्यक्ष रुपमा खेपिरहेको जोखिमपुर्ण यात्राको नजरअन्दाज गरिरहेको उनलाई आरोप लाग्ने गरेको छ ।