जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । वालिङ नगरपालिका–१२ सिर्सेकोटबाट वालिङ–१३ को बायाँटारीका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ–१२ को फिरफिरेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा वालिङ नगरपालिका–१२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर डाला मगर, ४५ वर्षका हिराकुमार डाला, २५ वर्षकी शर्मीला सारु, उहाँका ७ महिनाका छोरा गौरव सारु र वालिङ नगरपालिका–१४ की ६१ वर्षकी कुलकुमारी कनौचे रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा परि चार जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी निरीक्षक पद्मराज थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते हुनेमा ६० वर्षका अङ्गबहादुर डाला, ५७ वर्षका दलबहादुर डाला, ५५ वर्षकी मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, १९ वर्षकी लक्ष्मी डाला र १८ वर्षकी नविना सारु रहेका जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।
घाइते ६ जनालाई उपचारका लागि पोखरा पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । जीपमा ११ जना यात्रु थिए ।